पब्लिक स्पीकर रमेश प्रसाईलाई बिर्तामोडमा नागरिक अभिनन्दन गरिएको छ ।
बिर्तामोड–१ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालय सहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाली कलाकारहरुको तर्फबाट पब्लिक स्पीकर प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो ।
झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा तीन दर्जन भन्दा वढी सामाजिक संघसंस्थाले पब्लिक स्पीकर प्रसाईलाई कदर पत्र, नेपाली टोपी, खादा,दोसल्ला र नगदसहित अभिनन्दन गरेका थिए ।
कार्यक्रम अघि पब्लिक स्पीकर प्रसाईलाई नौमती वाजा, च्याव्रुङ वाजा गाजासहित नेवारी, लिम्वू, सन्थाल, राजवंशी, तमु लगायतका विभिन्न परम्परागत साँस्कृतिक भेषभुसामा सजिएका झापालीहरुले स्कटिङ गरी झापा नाटकघरमा भित्र्याएका थिए ।
कार्यक्रममा पब्लिक स्पीकर प्रसाईले क्षितिज नाट्य समूहले सरकारले समेत बनाउन नसकेको झापा नाटक घर निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए ।
झापा नाटक घरलाई देशकै नमूना नाटक घर बनाउन आफू पनि लागि पर्ने बताउँदै उनले यसमा सहयोग गर्न सवैलाई आग्रह गरे ।