राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले तोकेको सूचना नदिने ३ वटा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई १० हजार रुपैंयाँका दरले जरिवानाको आदेश गरेको छ ।
आयोगले नागरिकको संविधान प्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गर्ने प्राइम बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र बैंक अफ काडमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर गरेको छ ।
सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले कारवाही गरेको हो ।
जुम्लाका नागरिक अंगराज भारतीले ती बैंकहरुसँग सार्वजनिक महत्वको सूचना माग गरेका थिए । उनले माग गरे अनुसारको सूचना नदिएको भन्दै उनी ती बैंकहरुविरुद्ध सूचना आयोगमा पुगी निवेदन दर्ज गराएका थिए ।
उनको निवेदनको आधारमा सूचना आयोगले ती बैंकलाई अंगराज भारतीले माग गरे बमोजिम सूचना दिन पत्राचार गरेको थियो । तर सूचना आयोगको पत्राचारलाई समेत वेवस्ता गर्दै सूचना दिन आनाकानी गरेपछि सूचना आयोगले प्राइम, लक्ष्मी र बैंक अफ काडमाण्डूका सीइओलाई कारवाही गरेको हो ।