शुक्रबार बिहानसम्म विघटित प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीको लाइन क्लियर थियो । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक थियो । आपित्तजनक थियो । यसलाई उल्ट्याउनुपर्ने उनको माग थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध उनी माइतीघर पुगे । विरोध प्रदर्शनमा सहभागी भए ।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्व पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठनेता सहभागी माइती घरको विरोध प्रदर्शनमा चौधरी पनि थिए । प्रदर्शनमै सहभागी एक केन्द्रीय सदस्यकाअनुसार बिहान माइतीघरको नाराबाजीमा सहभागी चौधरी माइतीघरबाट जुलुस निर्वाचन आयोग जान कान्तिपथतिर लागेपछि गायब भए ।
मेरो एउटा काम छ भन्दै निस्केका चौधरी एकैचोटी साँझ देखिए । खैरो पाइन्ट र खैरै कोट र नेपाली टोपीमा । शीतल निवासमा मन्त्रीको शपथ खाँदै गर्दा उनलाई देखेपछि समूहका नेता कार्यकर्ता चकित परे । उसो मध्यान्नपछि उनी मन्त्री बन्ने चर्चा हुन थालिसकेको थियो ।
बिहानसम्म ओलीविरुद्ध माइतीघरमा नाराबाजी गरिहेका चौधरी साझ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका थिए । उनी साँझ मन्त्रीको सपथ खाने क्रममा शीतल निवासमा देखिएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरेर राष्ट्रपतिले सदरगरे लगत्तै नेकपा नेता प्रभु साहले कडा विरोध गरे । उनले ओलीको निर्णयलाई ‘आत्मघाती’ कदमको संज्ञा दिए ।
पुस ५ गतेको ओलीको कदमपछि सोही दिन उनले सामाजिक सञ्जालमा लेखे, ‘नेपाली जनताले नेकपालाई लगभग दुई तिहाइको ऐतिहासिक स्पष्ट बहुमतमार्फत देशमा स्थायित्व, सुशासन र तिव्र विकास सहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संविधानमा रहेको त्रुटिहरूलाई सच्याउँदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलनका लागी समेत एउटा नमुना प्रस्तुत गर्ने सुअवसर प्रदान गरेको अवस्थामा पार्टी नेतृत्वको बीच आपसी सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो ।’
यो पनि
सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार गरियो : भट्टराई
यसको मतलब नेकपा दुई समूहमा विभाजित भएको खण्डमा उनी आलै दाहालको क्याम्पमा आए । उनीहरुकै भेलामा सहभागी भए । तर, शुक्रबार साँझ राजनीतिक रुपमा यूटर्न गर्दै शीतल निवासमा मन्त्रीको शपथ खाँदै गर्दा देखिए ।
प्रधानमन्त्री ओलीले उनलाई सहरी विकास मन्त्री बनाए । मन्त्रिपरिषद्मा प्रभु साहको प्रवेश रोचक ढंगले भएको छ । प्रतिनिधिसभा विघटनलगत्तै उनले उक्त निर्णयलाई आत्मघाती भनेका थिए । साह केही दिन दाहाल–नेपाल समूहमा लागे । उक्त समूहको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका उनी शुक्रबार मन्त्रीका रूपमा प्रकट भए ।
साह मन्त्री बनेसँगै सामाजिक सञ्जालमा अहिले पदका लागि राजनीतिमा के सम्म हुँदो रहेनछ भन्दै टिकाटिप्पणी भइरहेका छन् ।
मन्त्रिपरिषद्मा जुलीकुमारी महतोको प्रवेश पनि रोचक छ । विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए । तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।
र यो पनि :
ओली समूहमा आएपछि श्रीमतीलाई मन्त्री !
प्रधानमन्त्री ओलीले प्रदेश सभामा पराजित उम्मेद्वारलाई मन्त्री बनाएका छन् । सिन्धुपाल्चोकमा अधिकांश नेताहरू दाहाल नेपाल क्याम्पतिर लागेपछि पूर्वमाओवादीका दावा लामालाई केन्द्रीय मन्त्रीको चिट्ठा परेको हो । प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका निमा लामासँग पराजित भएका दावा पूर्व माओवादी भए पनि ओली क्याम्पमा नै थिए ।
यो पनि
‘नेताहरूलाई पनि माइतीघर चाहिँदो रहेछ’ सोफाबाट सडकमा, मण्डलालाई बोक्नै नसक्ने बोझ
सिन्धुपाल्चोकमा वाम गठबन्धनविरुद्ध काँग्रेसका निमा लामाबाहेक अरु दुई क्षेत्र र तीन प्रदेश नेकपाले जितेको थियो । पुष्पकमल दाहालको साथ छाडेका प्रमुख नेताहरूलाई ओलीले मन्त्रिपरिषद्मा सामेल गरेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहमा रहेर साथ दिने पूर्वमाओवादी समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सिफारिसमा पूर्वमाओवादी समूहका पाँच तथा पूर्वएमाले समूहका चारजनालाई मन्त्री नियुक्त गरेका छन् भने एकजनालाई राज्यमन्त्री नियुक्त गरेका छन् । ६ मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेका छन् ।
अनि अर्को पक्ष भने सदनबाट सडकमा पुगेको छ । शुक्रबार तीन जना पूर्वप्रधानमन्त्रीसहित दाहाल नेपाल समूहका वरिष्ठ नेताहरु माइतीघर मण्डलामा धर्ना बसेका थिए ।