आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । आज संसारभरका इसाई धर्मावलम्बीहरुको लागि महत्वपूर्ण दिन हो। क्रिसमसको दिनमा इसाई धर्मावलम्बीहरुका परमेश्वर जिजस क्राइस्ट (येशु ख्रीष्ट)को जन्म भएको मान्यता छ।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ। विशेषगरी यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ।
म हिन्दु परिवारमा जन्मिए, हुर्किए । तिज, पञ्चमी देखि लिएर एकादशीसम्मको ब्रत लिन्थे । हिन्दु रितिरिवाज अनुशार गरिने हरेक चार्डपर्व र तिर्थब्रत ध्यान दिएर नै गर्थे । हिन्दु धर्म हाम्रो परम्परा हो भनेर पटक पटक सिकाउने आमाले अरु धर्मलाई पनि सम्मान गर्नुपर्ने बताउनुहुन्थ्यो । म आफुलाई चै रातो मन पर्ने हुनाले उनीहरुले दशैमा टिका नलगाउँदा अचम्म नै मान्थे र सोध्थे, “आमा त्यो फलानोको हजुरआमाहरुले दशैमा किन टिका नलगाएको होला ?” आमाले तँलाई कति खोजीनीति चाहिएको भन्दै उनीहरुको र हाम्रो धर्म अर्कै हो भन्नुहुन्थ्यो ।
त्यसपछि म त्यस्तो रातो टिका नै लगाउन नहुने त कस्तो धर्म होला भन्थे । आमाले विनम्रतापूर्वक सबैको आफ्नो आफ्नो धर्म,संस्कृति र मान्यता हुन्छ । उनीहरुको धर्मलाई हामीले नराम्रो भन्नु हुदैन भनेर सम्झाउनु हुन्थ्यो । मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको रे त्यही भएर उनीहरुको लागि येशु प्रिय हो रे हामीले केही भन्नु हुदैन भनेर सम्झाएपछि सबै धर्म एउटै रहेछ भनेर बुझेछु ।
स्कुलमा पनि धेरै साथी क्रिश्चियन थिए । एलिया,सामुहेल लगायतको साथीहरुसँग चर्च घुम्न पनि जान्थे । साथी दुर्गा मैनालीको घर नजिकै चर्च भएको कारणले पनि येशुको बारेमा धेरै जान्ने मौका मिल्यो । पुस्तक पढ्ने रुची भएकोले कहिले कहिले स्कुलमा साथीहरुले दिएको पर्चाहरु पढ्थे ।
अन्तत : मलाई सबै धर्मको आफ्नै मुल्य र मान्यता रहेछ र सबैको सम्मान गर्नुपर्छ भन्ने लाग्थ्यो । म साथीहरुसँग चर्च पनि जान्थे भने महम्मद आलम नामको साथीसँग मुस्लिम धर्मको बारेमा सोध्थे । यसैक्रममा समय बित्दै गयो । एसएलसी दिएपछि हामी सबै छुट्टिएर आफ्नो आफ्नो भविष्य बनाउने तिर लाग्यौं त्यसपछि हिन्दु धर्मअनुशारको संस्कृतिमा रम्दै गए ।
सबै हिन्दु धर्म मान्ने गाउँमा बिस्तारै इसाई धर्म फैलिदै गयो । बिशेषगरी गरिब दु:खीहरु यो धर्ममा लागे रे भन्ने हल्ला सुन्थे तर खासै चासो भने दिइन् ।
त्यो समयदेखि आजसम्म पनि हाम्रो देशमा धर्मका बिरुद्धमा ठूला ठूला दुष्प्रचारहरु भएका छन् । हामी नेपालीलाई पनि उक्साइएको छ । धर्म नै विभेदको कारक हो भन्न लगाइएको छ । साँच्चै धर्मका नाममा भयानक खेति भइरहेको छ । जनचेतनाका नाममा गाउँ पसेर धार्मिक आस्थाका बिरुद्ध भडकाउनेहरु सलबलाई रहेका छन् । यस्तो बेलामा हामी पनि तिनै कुराहरुको पछि लाग्ने कि सचेत हुने ?
‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्गम स्थलमा विद्रोहको क्रिश्चियन साइनोलाई समेत पहिल्याउने काम गरेको छ। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो।
विश्वका ठूला ठूला युद्ध धर्मकै कारण भएका छन् । त्यस्तो परिस्थिति हाम्रो देशमा पनि नआओस्, धर्मका बिरुद्धमा सोझा जनतालाई नभड्काइयोस् । धर्मलाई राजनीतिको अखडा बनाएर मानविय संवेदनामाथि खेल्ने काम कहीँ कतैबाट पनि हुनुहुँदैन । धर्म हाम्रो आस्था हो । जस्ले जुनसुकै धर्म माने पनि मानवतालाई बिर्सनु हुदैन भन्ने मेरो मान्यता छ ।
गत वर्ष करिब ११ वर्ष पछि बिद्यालयमा सँगै पढेको साथीसँग फोनमा कुरा भयो । हामी बच्चै बेला देखि निकै मिल्ने साथी भएकोले फोनमा लामै कुरा भयो । कुराकानीको क्रममा उस्को श्रीमतीको निधन भएको र सानो नानीलाई आफैले हुर्काउदै गरेको दुखद खबर सुनायो । मलाई असह्य भयो, दुखीलाई मात्र किन पीडा माथी पीडा थप्छन् भन्दै सहानुभुति दिए ।
उ भारतमा बस्ने भएकोले इमोमार्फत ३ महिनासम्म लगातार कुरा भयो । म त्यस्लाई धेरै सहानुभुति दिन्थे । यस्तै हो जीवन, अब तैले आमा र बुबा दुबैको माया दिएर नानीलाई हुर्का, तैले पुरा गर्न नसकेका सपना छोरीलाई शिक्षा दिएर साकार गर भनेर सम्झाउँथे ।
त्यस्को ३ महिनापछि “ओइ सानी, एउटा कुरा भन्छु नरिसा है भन्यो । मैले भन न यत्तिका वर्ष पछि भेट भएको छस् किन रिसाउनु र भने । त्यस्पछि उस्ले बेलिबिस्तार लगाउँदै भन्यो, ” विद्यालय जीवन सकिएपछि म यता आए, म धेरै तनावमा रहे त्यसपछि लागु औषधको कुलतमा फसे । मेरो जीवन नर्क जस्तै भयो, त्यसपछि म येशुको शरणमा पुगे अनि उहाँले मलाई मान्छे बनाउनु भयो ।
मैले यति सानो कुरामा किन रिसाउनु र भनेर जवाफ फर्काए, त्यसपछि उस्ले भन्यो, “प्रभुले मेरो लागि यति धेरै कुरा दिनुभयो मैले उहाँलाई केही दिन सकिन त्यही भएर नानीको आमा दिए भन्यो” म रनथनिए, हिजोसम्म माया र सहानुभुति पाएको साथीसँग एकाएक रिस उठ्यो । उस्ले श्रीमती चर्चमा काम गर्नलाई छाड्यो कि अन्य केहि मैले प्रश्न गर्न सकिन र फोन काटे ।
उस्को र मेरो दुईचार जना म्युचुअल फेन्ड्रलाई यो कुरा सुनाए । उनीहरुले त्यो जिस्किएको होला, त्यस्को कुरा पनि पत्याउछेस भनेर प्रतिक्रिया दिए । तर आजको दिनसम्म पनि त्यस्को श्रीमतीको बारेमा सोध्ने न त आँट आउँछ न त सोधेको नै छु ।
त्यस्को कुरा सुनेपछि मैले अन्य धर्मलाई सम्झे । हाम्रो हिन्दु धर्ममा पनि कति बच्चाहरुलाई बलि दिएको, बलि दिन लाँदा पक्राउ गरेको समाचारहरु बेलाबेलामा आउने गरेका छन् । बिदेशतिर पनि धार्मिक दंगा भएका समाचारहरु पढ्न पाईन्छन् । मैले आजसम्म धार्मिक बिभेद गरेको छैन । अरुका धर्मको सम्मान र आफ्नो धर्म पालना गर्नुपर्छ भन्ने कुरा पनि मलाई मानवीय धर्मले सिकाएको हो ।
हाम्रो देश धर्म निरपेक्ष भएकैमा हामीले गर्व गर्नुपर्ने धेरै कारण छन् । धर्मका नाममा राजनीति गर्न र अनेकखाले प्रचारबाजी गर्न धार्मिक स्वतन्त्रता र धर्म सापेक्षतालाई एउटै टोकरीमा हाल्न मिल्छ ? पक्कै पनि यी दुई फरक कुरा हुन् । त्यसैले अरुको कुरा सुनेर भन्दा आफ्नो मनले रोजेको धर्म लिनुहोस । म सबै धर्मको सम्मान गर्छु र इसाई धर्मावलम्बीहरुलाई शुभकामना दिन चाहन्छु ।