काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुटको घोषणा औपचारीक रुपमा मात्र हुन बाँकी छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार छुट्टा छुट्टै केन्द्रिय समितिको बैठक बोलाएका छन् ।
यस अघि प्रचण्ड समुहको स्थायी समुहको बैठकले अध्यक्ष ओलीलाई कारवाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाएको थियो । सोमवार निर्वाचन आयोगमा त्यस सम्बन्धी जानकारी गराइएको थियो । तर प्रचण्डलाई ओली समुहले अर्को झट्का दिएको छ । प्रचण्डलाई पार्टीले अनुशासनको कारबाही गरेको पत्र पहिल्यै निर्वाचन आयोगलाई जानकारी गराइएको दाबी गरिएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार आयोगमा प्रचण्डलाई अनुशासनको कारबाही गरेको पत्र पहिल्यै पठाइसकिएको छ ।
आइतबार बसेको प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस केन्द्रीय कमिटीलाई गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे हिजो (सोमबार) निर्वाचन आयोगलाई स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी गराएका हुन् । ओलीलाई कारबाहीको जानकारी गराएको लिखित पत्र निर्वाचन आयोगमा ५३८ नम्बरमा दर्ता भएको छ ।