नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ३५१ जनाको नमूना परिक्षण गर्दा ४४८ पुरुष र २९४ महिलासहित कूल ७४२ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । जसमध्ये २ लाख ४४ हजार ७४२ जना कोरोनामुक्त भएका छन् । अहिले सक्रिय अवस्थामा रहेका संक्रमित (उपचार गराइरहेका वा होम आइसोलेसनमा बसेका) को संख्या ७ हजार ९७६ मा झरेको छ ।
मन्त्रालयले अहिलेसम्म १८ लाख ७७ हजार १८१ जनाको नमूना परिक्षण गरिएको जनाएको छ ।
तथ्यांकलाई विश्लेषण गर्दा कूल संक्रमितमध्ये ९६ दशमलव १ प्रतिशत निको भएका छन् भने शून्य दशमलव ७१ प्रतिशतले ज्यान गुमाएका छन् त्यस्तै ३ दशमलव १३ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३११ जना रहेका छन् । तीमध्ये पुरुषको संख्या १८१ र महिलाको संख्या १३० रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।