कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबार पुनः सुरु भएको छ ।
करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज काठमाडौँबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बिहान ११:२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १:५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । १५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र ६ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवर्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमा झैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले बताइन् । ‘भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमा झैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ,’ उनले भनिन् ।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सुरु गरिएको हो ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौं–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इन्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगन भएको थियो । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।