खोटाङ जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरका चालक भने गम्भिर घाईते भएका छन् ।
बुधबार सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका ट्याक्टरका सहचालक १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएका ईन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिएका छन् ।
सिम्पानी–रोक्सिमभञ्ज्याङ सडक खण्ड अन्तरगत ईन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्याक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको राईले जानकारी दिए ।
दुर्घटना लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
रोक्सिमभञ्ज्याङ पुग्नु भन्दा करीब आधा घण्टा अगाडि ट्याक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । मृतकको शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।