प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बसेको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बोलाएको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा ‘कोरम’ नपुगेर बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।
बालुवाटारमा बसेको उक्त बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी थिइन् ।
नयाँ अध्यादेश अनुसार हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएका थिए । उक्त बैठकसकिय लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास झिरेका थिए ।
यसअगाडी पनि राष्ट्रपतिले जारी गरेको अध्यादेश नेकपाकै अर्को गुटको दवावमा खारेज गरिएको थियो ।