प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशबारे आफ्नो धारणा राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले आफ्नो धारणा राखेका हुन् ।
राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।’
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । हाल उपसभामुख पद रिक्त छ ।
अब परिषदमा अध्यक्षसहित ३ जना सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका हुन् । उनी भन्छन् “यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !”
सामाजिक संजाल ट्विटरमा एक ट्विटर गर्दै देउवाले आफ्नो धारणा राखेका हुन् ।
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ ।
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020
कांग्रेसले आज बैठक बस्नु अगाडि पनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अध्यादेश ल्याएको खण्डमा परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
गलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।
बालुवाटारमा बसेको उक्त बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी हुन् ।
अध्यादेश जारी भएपछि राजनैतिक वृत्तमा एकप्रकारको हलचल नै मच्चिएको छ । ओलीइतरका पाँच भाई खुमलटारमा भेला भएर बैठक गरेको समाचार पनि आइरहेका छन् ।
सम्वन्धित समाचार