सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बोलाएको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा ‘कोरम’ नपुगेर बैठक स्थगित भएको हो।
बैठक आजै साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेका थिए।
गत आइतबार बस्ने भनिएको बैठकमा शेरबहादुर देउवा अनुपस्थित हुने सूचना पाएपछि स्थगित भएको थियो। आजको बैठकमा देउवा उपस्थित भए तर सभामुख सापकोटा उपस्थित नहुने जानकारी भएकाले बैठक रोकिएको हो । अर्को बैठक साँझ पाँच बस्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएको बताइएको छ ।
संविधान अनुसार संवैधानिक परिषदमा ६ सदस्य रहनेछन् ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, र विपक्षी दलका नेता रहनेछन् ।
परिषद्को बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्री सहित ५ जना अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्री सहित पाँच जना मात्रै परिषद्मा रहेकाले एक जना अनुपस्थित भएमात्रै पनि बैठक बस्न सक्दैन् । बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा पुगेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग लगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ती गर्नुपर्ने भएपछि प्रधानमन्त्री ओलीले परिषद्को बैठक आव्हान गरेका हुन् । आइतबार बोलाइएको बैठकमा पनि सभामखु सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक सरेको थियो ।