नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई ‘महारानी’ भन्दै काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिनुभएका छन् ।
कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको सभामा, थापाले राष्ट्रपति कार्यालय शीतल निवासमा बसेर पार्टीको गूट झगडा मिलाउन उद्यत रहेको आरोप लगाउँदै विद्या भण्डारीले पदको गरिमा बिर्सिएको आक्षेप पनि लगाए ।
सभामा थापाले भने, ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी शितल निवासबाट आँखा नझिम्क्याई बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस् ।’
नेकपा भन्ने कुनै पार्टी नभएर लोभी पापीको मञ्च भएको आरोप लगाउँदै थापाले भने ‘केपी ओली लोभी र प्रचण्ड पापी हुन् ।’
कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।