नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विवाद सिर्जना भएपछि छानविनका लागि बाटो खुला गर्न नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।
उनले नैतिकता प्रदर्शन गर्न आफूबाट सिक्न सकिने पनि बताएका छन् ।
विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले आफूले विवादमा नाम आउनासाथै राजीनामा दिएर छानविनको लागि बाटो खोलेको बताउँदै प्रवक्ता श्रेष्ठलाई आफ्नो मार्ग हिड्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुको भेलामा सरिक हुन विराटनगर पुगेका बाँस्कोटाले प्रधानमन्त्रीबाट ओलीलाई कसैले पनि हटाउन नसक्नेसमेत बताएका छन् । उनले यो कार्यकाल ओलीले पुरा गर्ने बताएका छन् ।
संविधान जारी हुँदाताका नेपाली काँगेससहितका दलहरुलाई धेरै दवाव आईरहेको बेला केपी ओलीको जोडबलमा देशमा समाजवाद उन्मुख संविधान जारी भएको नेता बास्कोटाको दावी थियो । सार्वभौम र स्वतन्त्र विदेश नीति सञ्चालनमा नेतृत्व सफल भएको संकेत गर्दै नेता बास्कोटाले उग्र जातिवाद, पृथकतावाद, क्षेत्रीयतावाद र राष्ट्रिय आत्मासमर्पणवाद हावी भएको देशलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न ओली नेतृत्व सफल देखिएको जिकीर गरे ।
आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडी सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाको माग गर्दै प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरुले नारायणकाजी श्रेष्ठ र महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनि लगाएका थिए । उनीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् ।