‘प्रहरी मेरो साथी’ यो नारा नेपाल प्रहरीको हो । र नेपाल प्रहरीले गर्ने काम पनि यहि नाराले भनेजस्तै हो । तर बेलाबखत नेपाल प्रहरी भित्रका कुनै नराम्रो कुराले सिंगो प्रहरी छवि धमेलीएका उदाहरणहरु पनि छन् भने कुनै यस्ता सामाजिक कार्यहरु पनि छन् जसले नेपाल प्रहरीलाई एकपटक सलाम गर्न मन लाग्छ ।
प्रहरीले बाढी पहिरोमा गरेको उद्धार होस् या आगलागीमा नागरिक बचाउँदै गरेको होस्, यस्ता मन छुनेखालमा तस्बिरहरु देख्दा साच्चिकै सलाम गर्न मन लाग्छ । दिनभर सडकमा सिटी फुकेर बस्ने ट्राफिक प्रहरी होस् वा चाडपर्वमा बिदा नपाएर मन बहकाउँदै नागरिकको रक्षार्थ ड्युटीमा खटिने प्रहरी होस्, उ देशको सेवामा पक्कै लागेको छ ।
अहिले सामाजिक संजालमा प्रहरीको एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ । जसले प्रहरीले गर्ने ड्युटी र कामलाई मुल्यांकन गर्छ । पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा राखेको उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल नै बनेको छ ।
पूर्वसचिव उपाध्यायले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘सल्यानमा हाम्रा प्रहरी जवान यसरी कष्ट ब्यहोर्दै ड्युटी गर्नुपर्छ । जाडो, कोरोना र धुलाम्मे जीवन ।’
यो तस्बिरमा थुप्रैले प्रतिकृया समेत दिएका छन् । सरकारले नेपालको सडक सुधार गर्न नसकेको, सुखी नेपाली समृद्ध नेपालको नारा बनाएर पुरा गर्न नसकी लाजमर्दाे गरेको, नागरिकहरुले थुप्रै सास्ती भोग्नुपरेको जस्ता प्रतिकृयाहरु फेसबुकमा देखिएका छन् । र याे तस्बिरमा देखिएका प्रहरीप्रति पनि उच्च सम्मान फेसबुककर्ताले देखाएका छन् ।