रुसको अर्खान्गेल्स्कमा बाथटबमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । बुधबार (हिजो) चार्ज भइरहेको आइफोन बाथटबमा खस्दा करेन्ट लागेर नुहाइरहेकी २४ वर्षीया ओलेस्या सेमेनोवाको मृत्यु भएको हो ।
ओलेस्या सेमेनोभाको शवलाई रसियाली शहर अर्खान्जेल्स्कमा रहेको एक फ्ल्याटमा उनकी साथीले भेटेकी हुन् ।
‘मैले उनलाई देख्ने बित्तिकै चिच्याएँ, उनलाई हल्लाएँ, तर उनी पहेँलो भइसकेकी थिइन्, उनले सास पनि फेरेकी थिइनन् र जीवनको कुनै संकेत नै दिइनन्,’ डारिया नाम गरेकी उनकी साथीले एमर्जेन्सी अपरेटरलाई भनिन् ।
‘म निकै आत्तिएकी थिएँ, जब मैले उनलाई छोएँ, मलाई पनि बिजुलीको झट्का लाग्यो ।’
‘पानीमा स्मार्टफोन थियो र त्यो चार्ज भइरहेको थियो ।’
स्वास्थ्यकर्मीले सेमेनोभाको मृत्यु नुहाउने क्रममा करेन्ट लागेर भएको पुष्टि गरे । उनी एक कपडा पसलमा काम गर्थिन् ।
गत अगस्टमा रसियाको एक विद्यालयमा पढ्ने १५ वर्षे छात्राको नुहाउने क्रममा करेन्ट लागेको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय परिचय स्थापित गरेकी पोकर स्टार लिलिया नोभिकोभाको पनि गत वर्ष नुहाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएको थियो ।