भारतको आन्ध्र प्रदेशमा पर्ने पश्चिम गोदावरी जिल्लास्थित एलुरु सहरमा अज्ञात रोगले मानिस धमाधम बिरामी पर्न थालेपछि आतंक फैलिएको छ।
भारतको अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार शनिबार साँझसम्म रहस्यमय रोगले ५ सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्युसमेत भएको छ।
सबैमा बेहोस हुने र एकछिनमै सञ्चो पनि हुने एकै खालको लक्षण देखिएको छ।
एकपटक ठीक भएर डिस्चार्ज गरिएका ६ जनालाई फेरि त्यही समस्याले बिरामी पारेपछि पुनः मंगलबार अस्पताल भर्ना गरिएको इन्डियन एक्सप्रेसको खबरमा उल्लेख छ।
आन्ध्र प्रदेश सरकारका स्वास्थ्यमन्त्री एके कृष्णा श्रीनिवासले ५१० बिरामीमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिएका छन्।
उनले भनेका छन्, ‘म सबैलाई आग्रह गर्न चाहन्छु- नआत्तिनुहोला। हामी यो रोग पत्ता लगाउने प्रयास गरिरहेका छौं।’
आन्ध्र प्रदेशको गोदावरी जिल्लाका नागरिकमा स्वास्थ्य समस्या देखिएको हो ।
दूषित खानेपानी र प्रदूषित वातावरणका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । तर,आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्री निवासले बिरामीको रगतको नमुना संकलन गरी परीक्षण गर्दा त्यस्तो केही समस्या नपाएको बताए ।
उनले खानेपानीको नमुना परीक्षणमा कुनै खराबी नपाएको तथा बिरामीको रगतमा पनि कुनै भाइरस नभेटिएको बताएका हुन् ।