उ अर्थात एक अपरिचित ब्यक्ति पहिलो दिन हेल्लो भन्दै मेरो नजिक आयो र मसँग हात मिलायो । मैले आफ्नो परिचय दिए । उसले आफ्नो परिचय दियो ।
दोश्रो दिन पनि उ हेल्लो भन्दै मेरो छेउ आयो र मसँग हात मिलायो । तर पहिलो दिनको भन्दा यस पटक उसले मेरो हात जोडसँग निमोठ्यो । उसको बानी नै यस्तै होला भन्ने सोचेर यसलाई सामान्य नै ठाने ।
तेस्रो दिन त ऊ टाढैबाट हेल्लो भन्दै आयो र स्टाईल बनाउदै मुड्कीले दुई पटक जोड जोडसँग मेरो कुममा हिर्कायो । म शुरुमा अक्क न बक्क भए । तर पछि सोचे यो पनि उसको बानी नै हुनुपर्छ अथवा अहिलेको नयाँ स्टाईल होला। मैले उसको यो ब्यबहारलाई पनि सामान्य रुपमै लिए र केही नभनि बसे ।
चौथो दिन भने ऊ चुपचापसँग आयो केहि नभनी मलाई भकाभक हिर्काउन थाल्यो । म ईन्तु न चिन्तु भए तर कुनै प्रतिवाद नगरी सहि मात्र रहे । सायद मैले यसलाई पनि उसको बानी नै ठाने हुँला !
तर मलाई चिन्ता लाग्न थाल्यो पाचौं दिनको …।