विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३०१ पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९१ प्रतिशत हो ।