कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ ।
दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहने यो फिल्मको एक दिनको छायांकन चितवनमा गरेर निर्माण टिम काठमाडौं फर्किएको छ ।
यसअघि फिल्मको छायांकन पाल्पाका विभिन्न स्थानमा गरिएको थियो । केकी अधिकारी, प्रकाश सपूत, दिलिप रायमाझी लगायत कलाकार पाल्पा पुगेका थिए ।
फिल्मको छायांकनका लागि वर्षा अमेरिकाबाट नेपाल आएकी छिन् । दशैं लगत्तै उनी अमेरिका उडेकी थिइन् ।
लामो समय अमेरिका बसेर फर्किएकी अभिनेत्री बर्षा शिवाकोटीले फिल्मको सुटिङ सुरु गरेकी छन् । उनले बिहिबार चितवन पुगेर फिल्मको सुटिङ ज्वाइन गरेकी हुन् । नारायण रायमाझीको निर्देशन रहेको फिल्ममा दीलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, बर्षा शिवाकोटी नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।
नारायण रायमाझीले निर्देशन गर्ने यो फिल्ममा सामाजिक विषयवस्तु समेटिनेछ । अब फिल्मको गीत छायांकन गर्ने निर्माण टिमले योजना बनाएको छ ।
यसअघि फिल्म ‘परदेशी’ रिलिज भएको थियो । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया कमाएको थियो ।
रमेश विजीको कथा, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्मको छायाँकन गत चैत्रमा कोरोनाको कारण रोकिएको थियो । फिल्मले विभिन्न कारणले विदेशीने नेपालीको कथा बिषयबस्तुका रुपमा उठाउन खोजेको छ ।
कोरोना महामारीका कारण यो चलचित्रको छायाँकन ८ महिनादेखि रोकिएको थियो ।
चलचित्रको केही प्रतिशत छायांकन अमेरिकामा गर्नुपर्ने भए पनि कोरोना कारण विदेशमा छायांकन सम्भव नभएपछि नेपालमै सेट लगाएर खिच्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।