बिहीबार सत्तारुढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीसँग राष्ट्रपति विद्यादेवि भण्डारीले छुट्टाछुट्टै संवाद गरेकी छन् । नेकपा फुटको सँघारमा पुगेकाबेला राष्ट्रपति भण्डारीले अध्यक्षद्वयसँग एक्लाएक्लै संवाद गरेकी हुन् । भेटमा अध्यक्ष प्रचण्डलाई २० मंसिरको सचिवालय र २१ मंसिरको स्थायी समितिको बैठक स्थगित मिलापको वातावरण बनाउन सुझाव दिएकी हुन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफललगत्तै प्रचण्डलाई बोलाएर राष्ट्रपति भण्डारीलाई प्रचण्डलाई बोलाएर यस्तो सुझाएकी हुन् । नेकपाको वर्तमान संकट ओलीबाटै सिर्जित भएको र समाधान पनि ओलीबाटै हुनुपर्ने प्रचण्डको तर्क थियो ।
राष्ट्रपति भण्डारीसँग भेट्न आउनुअघि प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका थिए । अर्का अध्यक्ष ओलीको सन्देशसहित पुगेका दुई नेता पौडेल र नेम्वाङको सचिवालय र स्थायी समितिका बैठक सार्ने सुझाव थियो ।
बैठक सारेर आफूलाई सुरक्षित बनाइराख्ने योजनामा रहेका ओलीले पौडेल र नेम्वाङलाई खुमलटार पठाएर आफू राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए । राष्ट्रपति भण्डारीसँग पनि तिनै विषयमा केन्द्रित भएर छलफल भएको स्रोतको दाबी छ ।
नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो यो पहिलो पटक भने होइन । यसअघि पनि पटक पटक उनले नेकपालाई फुटबाट जोगाएको नेकपाकै नेताहरु बताउँछन् ।
जब–जब नेकपामा संकट उत्पन्न हुन्छ, तब–तब राष्ट्रपति भण्डारीको सक्रियता बढ्ने गर्दछ । प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँगको परामर्शलाई तीव्रता दिने गर्छन् । पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट सामान्य हो । तर पार्टीमा विवाद बढेका बेला यो क्रम बाक्लिन्छ ।
गत वर्ष पनि ओली र दाहालबीच शक्ति संघर्ष चुलिँदा शीतल निवासमा भुटवार्ता बाक्लिएका थिए । प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर चुलिएको संघर्ष मंसिर ४ गते ओलीले ५ वर्ष सरकार चलाउने र दाहाल कार्यकारी अध्यक्ष बन्ने समझदारीमा मत्थर भएको थियो । उक्त समझदारी गर्नुअघि ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका थिए । आपसमा तिक्तता आउनासाथ उनीहरू राष्ट्रपति भण्डारी कहाँ पुग्छन् ।
पछिल्लो पटकको अन्तरसंघर्ष करिब पाटी विभाजनकै तहमा पुगेपछि राष्ट्रपति भण्डारीले अन्य नेताहरूसँग पनि भेटघाट गरिरहेकी छन् । गत वैशाखमा दल विभाजनको अध्यादेश जारी भएपछि संकट चुलिएका बेला पनि शीतल निवासमा ओली–दाहालको यस्तै दौडधुप चलेको थियो । असारमा नेकपाभित्र अर्को अन्तरसंघर्ष चुलिँदा पनि उनीहरूको शीतल निवास दौडधुप चलेको थियो ।
अभिभावकको गतिविधिले संस्थाको गरिमामाथि नै प्रश्न
उनको सक्रियतालाई लिएर बेलाबेलामा पार्टीभित्रैबाट पनि आलोचना हुने गरेको छ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको आन्तरिक विवाद समाधानमा राष्ट्रपति भण्डारीको सक्रियता गलत भएको बताउँछन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपतिले चासो देखाउनु पदीय मर्यादा र गरिमाको उल्लंघन भएको उनको ठहर छ ।
राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । यसअर्थ पनि पार्टीको आन्तरिक विवादमा उनको सक्रियताका विषयमा आलोचना हुने गरेको छ । ‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् हो,’ कांग्रेस नेता डा. शेखर कोइराला भन्छन् ।
राष्ट्रको अभिभावकको गतिविधिले संस्थाको गरिमामाथि नै प्रश्न खडा भएको विश्लेषकहरु बताउँछन् । राष्ट्रपतिको क्रियाक्रलापले शीतल निवासबाटै गुट चलाइरहेको आरोप कतिपय नेकपाकै नेताहरुले लगाउने गरेका छन् । राष्ट्रपति राष्ट्रको अभिभावक हो । त्यस हिसाबले राष्ट्रपति तटस्थ हुनु पर्ने हो ।
संविधानले राष्ट्रपतिको दलीय भूमिका कल्पना नगरे पनि राष्ट्रपति भण्डारीले भने नेकपाको आन्तरिक राजनीति व्यवस्थापनमा सक्रियता देखाउने गरेकी छन् । उनी नेकपा विवादको संकटमोचक नै बन्ने गरेकी छिन् । असारमा पार्टी विवादकै विषयमा केन्द्रित रहेर उनले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधकुमार नेपालसँग छलफल गरेकी थिइन् ।
यस्तै, ३ साउनमा भएको छलफलमा उनले अध्यक्ष प्रचण्डलाई जनताको बहुदलीय जनवाद मान्न प्रस्ताव गरेकी थिइन् । नेकपाको आन्तरिक विवादमा राष्ट्रपतिको सक्रियताले संविधानको मर्म माथि नै प्रहार भएको संविधान जानकारहरूको तर्क छ ।