मुम्बई । बलिउड स्टार वरुण धवन, नीतु कपुर र अनिल कपुर कोरोना संक्रमित भएका छन् । फिल्म ‘जुग जुग जियो’ सुटिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । फिल्मका निर्देशक राज मेहतामा समेत कोरोना देखिएको छ । फिल्मको सुटिङ पछिल्लो समय चन्डीगढमा भइरहेको थियो । त्यही क्रममा कलाकार र निर्देशक कोरोना संक्रमित भएका हुन् ।
कलाकार ठिक भएर रिपोट नेगेटिभ नआउन्जेलका लागि फिल्मको सुटिङ भने अहिले रोकिएको छ । सबै कलाकारको कोरोना टेष्ट रिपोट बिहिबार बाहिर आएको थियो । जसमा पोजेटिभ देखिएको थियो । फिल्मकी अभिनेत्री कियारा आडवाणीको बिषयमा भने अहिले समाचार बाहिर आएको छैन ।
तिनै कलाकारले फिल्मको सुटिङ नोभेम्बरमा शुरु गरेका थिए ।फिल्ममा बरुण धवन, कियारा आडवाणी, अनिल कपुर र नीतु कपुरको मुख्य भुमिका रहेको छ । नीतु ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् । उनी पछिल्लो समय २०१३ मा फिल्म ‘बेशरम’ मा देखिएकी थिइन् ।