गत कात्तिक २७ गते विराटनगरमा राजावादी समूहले जुलुस निकाल्यो । ¥यालीमा सहभागीको नारा थियो ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संविधान खारेज गर’ ‘२०४७ को संविधान लागू गर’ र ‘गणतन्त्र धोका हो ।’
विराटनगरपछि कैलालीको धनगढीमा मंसिर ४ गते ठूलो प्रदर्शन भयो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको अगुवाइमा भएको भनिएको प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू सडकमा निस्किए । त्यसमा राजसंस्थाको वकालत गर्दै आएको दल राप्रपा र विभिन्न धार्मिम संघ संस्थाका मानिसहरू मात्रै होइन अन्य दलका केही कार्यकर्ता पनि सडकमा पुगेको आयोजकको दाबी छ ।
बुधबार एकै दिन पोखरा र जनकपुरमा सडक प्रदर्शन भए । सयौंको संख्यामा नेपाली झण्डासहित सडकमा निस्केका उनीहरूको पनि नारा थियो, ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संविधान खारेज गर’ ‘२०४७ को संविधान लागू गर’ र ‘गणतन्त्र धोका हो ।’
यी प्रतिनिधि र्याली मात्रै हुन् । विगत एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा समान किसिमका साना ठूला ¥यालीहरू भइरहेका छन् । ज–जसको अगुवाइमा भएको भनिए पनि सबैजसो ¥यालीमा समानता छ । सहभागीहरूले धर्म सापेक्षता र राजतन्त्रका पक्षमा प्रदर्शन गरेका छन । संघीयता र गणतन्त्रविरुद्धमा नाराबाजी गरेका छन् ।
हिन्दु राष्ट्रवादीहरुले शनिबार नेपालगञ्जमा पनि मोटरसाइकल र्याली निकाले छन् । ‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै ठूलो संख्यामा मोटरसाइकलमा रहेकाहरुले नेपालगञ्ज बजार परिक्रमा गरे ।
आज पनि हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्याली निकालिएको छ । २०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्याली निकालिएको हो । यस्ता प्रदर्शन देशका विभिन्न ठाउँमा दैनिक भइरहेका छन् ।
आउँदो २० गते राजधानीमै प्रदर्शन गर्दै छ । २०४७ सालको संविधान स्थापना गरी राजतन्त्रसहितको संसदीय व्यवस्था हुनुपर्ने यो समूहको माग छ ।
गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउँदै यस्तो घडीमा यी गतिविधि भएका छन्, जुन बेला सत्तारूढ नेकपा आफैंभित्रको पदीय महत्त्वाकांक्षा र कार्यशैलीका कारण विभाजनको डिलमा पुगेको छ ।
दलीय हिसाबले राजतन्त्रको माग राखेको दल राप्रपा हो । पछिल्ला प्रदर्शनमा राप्रपाको संस्थागत आबद्धताचाहिँ छैन तर सबै प्रदर्शनहरूमा यो दलमा आबद्ध नेता र कार्यकर्ताचाहिँ संलग्न छन् । यसलाई राप्रपा अध्यक्ष कमल थापा पनि स्वीकार गर्छन् । प्रमुख प्रतिपक्ष कांग्रेस महाधिवेशनबाट कसले नेतृत्व हत्याउने भन्ने छिनाझपटीमा व्यस्त छ ।
यसबाट लामो समयदेखि राजसंस्था र धर्म सापेक्षताको पक्षमा वकालत गर्दै आएको राप्रपा खुसी नहुने कुरै भएन । राप्रपा अध्यक्ष कमल थापा भन्छन्, ‘कतिपयले सोध्छन्, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ? के पहिले संकट थिएन?
निश्चय पनि हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन,त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ।राम्रो कामको निम्ति योग्य र इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउंछ। बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुन्छ।’
यस्तो प्रदर्शनले गणतन्त्र पक्षधर केही नेता भने चिढिएका छन् । यस विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निरन्तर सामाजिक सन्जालमार्फत आक्रो पोखिरहेका छन् ।
डा. भट्टराई भन्छन्, ‘पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्, उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्, नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् ।’
उनी मात्रै होइन नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल पनि दक्षिणपन्थी शक्ति सल्बलाएको ठान्छन् । उनी भन्छन्, ‘लोकतान्त्रिक शक्ति कमजोर भएमा दक्षिणपन्थी शक्ति स्वतः सल्बलाउँछन् । सत्तारूढ नेकपा आन्तरिक किचलोमा अल्झिरहेको र प्रमुख प्रतिपक्षी कांग्रेस कतिबेला सत्तामा जान पाइएला भनेर ढुकिरहेको मौका छोपेर प्रतिगामी–राजावादीहरू सल्बलाउन खोजेका छन् । सचेत बनौं ।
यस्तो प्रदर्शनबाट कांग्रेसका केकी नेता पनि सशंकित छन् । कांग्रेस नेता मिनेन्द्र रिजाल जनता आजित भएकोले यस्तो भएको बताउँछन् । उनी भन्छन्, ‘शासनमा हुनेहरू महाराज झैं भएको देखेर नागरिक आजित छन् । सत्ता–दरबारका बाँकी भारादारहरू कसले मुख्तियार कजाइँ पाउने खेलमा मदमत्त छन् ।
यो तमासा देखेर, अघिका महाराज अब मौका पाए नागरिक झैं शासन गर्छु भन्दैछन् । हो पनि, शासनमा हुने महाराज झैं हुँदासम्म महाराज शासनमा आउने जोखिम त रहन्छ नै।