झापा । प्रधानाध्यापकले बिनाकारण शिक्षकलाई कुटेपछि अहिले झापा बिर्तामोड नगरपालिका–१० को विराट आधारभूत विद्यालय असान्त बनेको छ। विद्यालयका प्रधानाध्यापक बद्री बाँस्कोटाले शिक्षक इन्द्र बाँस्कोटालाई कुटपिट गरेको विषयलाई लिएर अभिभावक आन्दोलित भएका छन्।
उनीहरूले बिहीबारदेखि अनिश्चित समयका लागि विद्यालयमा तालाबन्दी गरेका छन्। सहकर्मीलाई कुटपिट गरेको दुई साता भन्दा बढी समय बित्दा पनि प्रअले माफी माग्नु र आत्मालोचना गर्नुको सट्टा उल्टै रवाफ देखाउन थालेपछि तालाबन्दी गर्नुपरेको अभिभावक ठाकुर उप्रेतीले बताए।
प्रअ बाँस्कोटाले कात्तिक २५ गते कार्यालयभित्रै ति शिक्षकलाई पिटेका थिए। विद्यालय लाग्ने, नलाग्ने विषयमा सही सूचना नदिँदा विदाको दिन आफूले धुलाबारीदेखि विद्यालय आएर दुख पाएको गुनासो शिक्षक बाँस्कोटाले प्रअसमक्ष गरेका थिए।
सोही विषयमा दुईजना बीच भनाभन हुँदा प्रअले शिक्षक बाँस्कोटालाई कुटपिट गरेर भुइँमा लडाइदिएको प्रत्यक्षदर्शी शिक्षकहरुले दाबी गरेका छन्।
सो विषयलाई लिएर नगरपालिकाले दुवैलाई छलफलमा राखेको थियो। छलफलमा प्रअ बाँस्कोटाले आत्मालोचना नगरेपछि अभिभावक र शिक्षकहरु आन्दोलित बनेका हुन्।
विद्यालयभित्रै शिक्षक पिट्दा प्रअ बाँस्कोटाले आत्मालोचना गर्नुभन्दा पनि घटनालाई दबाउन खोज्दै अन्य शिक्षकहरुलाई पनि दमन गर्न खोजेपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन्।
कुटपिटको विषयमा बुझ्न प्रअ बाँस्कोटालाई बोलाउँदा उनले आफू विरामी भएको बहाना बनाएर विद्यालय नआएपछि तालाबन्दी गरिएको स्थानीय पुनम प्रसाईले बताए।
उनले त्यस विषयमा अभिभावकहरुको भेला बोलाइएको जानकारी दिए। प्रअले माफी मागेर मात्रै नहुने कतिपय अभिभावकको अडान छ। कुटपिटको विषय भएकाले उनलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा अभिभावकहरु उभिएका छन्।
पीडित शिक्षकले आफू अन्यायमा परेको भन्दै प्रअलाई कारबाही हुनुपर्ने अडान राखेको अभिभावक ठाकुरले बताए।
प्रअले सांघातिक आक्रमण गरेको भन्दै ति शिक्षकले आफू असुरक्षित भएको बताएका छन्।