दोलखाको प्राचिन ऐतिहासिक मिन्दर भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ ।
मंगलवार भीमसेनको शिलामा पसिना आएको हो । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनको शिलामा पसिना आएको यो अठारौं पटक हो
शीलाको दायाँबाट पसिना आउँदा शासकमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ तर यसपटक दायाँबायाँबाट नै पसिना आएको छ ।
भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गर्ने गर्दछन् ।
सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन्।
राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।
आज जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ती जारी गर्दै बुधबार अर्थात भोली मंसिर १० गते राष्ट्रपतिसामू दोलखा भिमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाएको जनाएको छ ।
यसअघि २०६२-०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको स्थानीयवासी बताउँछन्। २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।