कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ ।
मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ,’ उनले भने ।
यसअगाडी कात्तिक २३ गते सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
कुनै देशबाट पुन: उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि, सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन् । संक्रमणको उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।