हरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रुपमा बन्द गरिएको छ ।
गोदावरी नगरपालिका–२ स्थित सो मन्दिरमा एकादशीको मेलामा भक्तजन बढी मात्रामा दर्शन गर्न आउने भएकाले कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरेर मेला लाग्न नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भक्तजनको भीडभाडले कोरोना फैलिने सम्भावना उच्च रहेकाले मेला लाग्न रोक लगाइएको हो ।”
नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताउँछन् । उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए ।
मुलुकमा कोरोना महामारी आउनुअघि विशङ्खुनारायण मन्दिरमा हरेक हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गथ्र्यो । यहाँ नारायणको पूजा र आरधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गर्थे । शनिबार र सार्वजनिक बिदाका दिन पनि विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको चहलपहल उत्तिकै हुन्थ्यो । हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गने परम्परा नेपालमा रहेको छ ।
गत वर्षको मेलामा रु ८० देखि ८२ हजार रुपैयाँ उठेको समितिले जनाएको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यो मन्दिर लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मन्दिरमा भगवान नारायणको प्रिय बाजा नगरा बजाउने चलन छ । यहाँ केही वर्ष अघिदेखि एक महिलाले भगवानको बिहान पूजासँगै साँझ आरती गर्दा नगरा बजाउँछिन् ।
कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । यो एकादशीमा धुनवेँशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर भत्तजन दर्शनका लागि विशङ्ख आउथे ।
हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूल, माला, फलफूल बस्त्र र रङ्ग लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा रहिआएको छ । ठूलो एकादशीको भोलिपल्ट आ–आफ्ना घरमा तुलसी रोपेका मानिसले होमयज्ञ गरेर तुलसीको उध्यापन गर्ने गर्छन ।
भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने,“यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।”