नेकपाभित्र जारी विवाद समाधानउन्मुख हुन छोडेर विभाजनको डिलतिर धकेलिएको छ। मुख्यतः प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको बहुमत त्यागेर सरकारका लागि साझेदारी गर्न कांग्रेससँग प्रस्ताव गरेपछि विवाद झन् गहिरिएको हो। पार्टी फुटाएरै भए पनि सरकार जोगाउने कदमपछि नेकपाका अधिकांश नेताहरु ओलीसँग आक्रोशित बनेका छन्।
नेकपा वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउन खोज्ने अपराधी भएको बताउँदै फुटाउन खोज्नेको पछि कोही नलाग्ने बताएका छन्। एक अनलाइनसँगको अन्तर्वार्तामा नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अहंकारका कारण पार्टी चरम संकटमा पुगेको आरोप लगाए।
प्रचण्डलाई फकाएर आफूलाई एक्ल्याउने प्रयास गरेपनि सफल नभएपछि प्रचण्डलाई एक्ल्याउन फेरी आफूलाई प्रयोग गर्न खोजेको उनले बताए। अहंकार र भजनमण्डलीको स्तुतीगान सुन्ने बानी परेको कारण केपी ओली बैठकबाट भाग्ने गरेको समेत उनको जिकिर छ।
नेता नेपालले ओलीमा चरम व्यक्तिवाद भएका कारण समस्या निम्तिएको बताए। “उहाँमा व्यक्तिवाद छ। उहाँमा अहंकार छ। मपाईँवाद छ। म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ। अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न। उहाँलाई छलफलमा विश्वास छैन।” नेता नेपालको भनाई छ, “उहाँलाई कमिटीको वैठकमा विश्वास छैन। उहाँलाई व्यापक वहसहरुमा रुचि छैन। वहस, विवाद, छलफलबाट एउटा निकासमा पुगिन्छ। ‘वादेवादे जायदे तत्वबोध’ भनिन्छ।”
ओलीले दासत्वलाई संरक्षण गरेको नेता नेपालको आरोप छ । ‘उहाँमा रहेको व्यक्ति पूजाको प्रवृति रहेको छ। फोटोको संस्कारलाई मान्यता दिनुहुन्छ।’ नेपाल भन्छन्, ‘फोटोको विज्ञापन, फोटाको प्रचार प्रसारहरु, त्यसले के हुन्छ भने मान्छेमा अहंकार जन्म हुन्छ। आफ्नो अपरिहार्यता जन्म हुन्छ। म नै सर्वेसर्वा हुँ भन्ने हुन्छ।’