नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की युवा नेत्री एवं सांसद रामकुमारी झाक्रीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास र आजको जबरजस्त नेता भएको टिप्पणी गरेकी छन्।
एक अन्तर्वार्तामा झाक्रीले प्रचण्ड राजनीतिक ग्याम मेकर भएको पनि टिप्पणी गरिन्।
आजको समयमा राजनीतिक अस्तित्वमा रहेर जतिले बर्दिफुली लगाउन पाएका छन् त्यसमा प्रचण्डको योगदान रहेको उनको दाबी छ। इतिहासमा प्रचण्डको योगदान नभएको भए सम्भवतः त्यो सम्भव नहुने झाक्रीको तर्क थियो। प्रचण्डले पृष्ठभूमिका गरेको सहयोग कसैले पनि भुल्न नहुने उनको धारणा छ।
‘प्रचण्ड स्वीकारदा/नस्वीकारदा अथवा मान्दा/नमान्दा पनि एउटा जबरजस्त नेता हो। आज अस्तित्वमा भएर बर्दिफुली लाउनेहरू प्रचण्डको योगदान बिना कोही भएका होइनन्, ‘ उनले भनिन्, ‘त्यस कारण प्रचण्डप्रति प्रहार गर्दा हेक्का राखौं। इतिहासमा र आज प्रचण्ड जबरजस्त नेता हो र उहाँ ग्याम मेकर, च्यान्जर, प्लेयर सबै हो। अहिलेका पात्रहरू प्रचण्डको सहयोग विना भएका होइनन्।’
प्रचण्डमा केही कमजोरी रहेको भए पनि इतिहासले उनको भूमिकाले जबरजस्त नेता बनाएको झाक्रीले बताइन्। जनआन्दोलनपछि जति व्यक्तिले देशको नेतृत्व गर्न पाए त्यो सम्भव प्रचण्डको योगदानका कारण भएको उनको टिप्पणी छ।