भो अहिले सरकारलाई डिस्टब नगरौं
भर्खरै त सरकारले काम गर्न पाएको छ ।
भर्खरै त सत्ताको बागडोर सम्हालेको छ
दुईचार वर्ष भनेको त कति नै पो हो र ?
तैपनि घरघरमा समृद्धि पुर्याएकै छ ।
उखानटुक्का बाँडेकै छ,
आश्वासनको थुप्रो लगाएकै छ ।
जनताको लाशमाथि कुल्चिएर भए नी
आफ्नो व्यापार चलाएकै छ
भो अहिले सरकारलाई डिस्टर्ब नगरौं
रोग भोक गरिबी र अशिक्षासँग त लड्दै गरौला नी
पहिले सबै स्थानीय तहमा भ्यू टावर बनाउन दिउँ
सबै जनप्रतिनिधिलाई डोजर किन्न दिउँ ।
सबै साँसदलाई ठेक्कापट्टाको भाग लगाउन दिउँ
भो अहिले सरकारलाई डिस्टब नगरौं
गाउँ गाउँमा विकासको मुल जो फुटाउनु छ
स्थानीय रजौटाहरुलाई मनलाग्दी गर्न दिउँ
पानी जहाज र रेल कुद्ने बाटो बनाउन दिउँ
घरघरमा ग्याँसको पाईप घुसाउन दिउँ
सडक नभएपनि नेताका लागि,
बोकेरै गाडी पुर्याउन दिउँ
भो अहिले सरकारलाई डिस्टब नगरौं
नक्सा बनि गयो जमिन नफर्किएर के भो र ?
नेता जति सबै बन्नुपर्छ देश नबनेर के भो र ?
जति भनेपनि जनताले कर तिरेकै छन
फेरी पालो नआउन सक्छ, अहिले नलुटेर कहिले लुट्ने र ?
भो अहिले सरकारलाई डिस्टब नगरौं
भुकम्पले चिराचिरा बनाएको गाउँबस्ती विस्तारै बनाउँला
कठ्याग्रीँदो चिसो र झरीमा चौरमै बसेर पढुन विद्यार्थी
स्कुल कलेज र अस्पताल बनाउन हतार नै के छ र ?
रेल मार्ग नभएपनि रेल किन्न दिउ सरकारलाई
भो अहिले सरकारलाई डिस्टब नगरौं ।
जनताको दु:ख र पीडाको के वास्ता सरकारलाई
मागेको बेला भोट दिएकै छन्,
अरिंगालले जयजयकार गाएकै छन् ।
खान नपाएर मरुन की उपचार नपाएर मरुन
महंगीले मरुन कि कालाबजारीले मरुन
गरिबीले नेपालमै मरुन कि खाडी गएर मरुन
सरकारले आफ्ना लागि समृद्धि ल्याएकै छ,
भो अहिले सरकारलाई डिस्टब नगरौं ।