केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो ।
अब सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।
महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए ।
सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’
महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।
विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।