सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ ।
राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न असोज १ गते बोलपत्र आह्वान गरेको थियो ।
अन्तिम दिन कात्तिक ३ गतेसम्म दर्ता भएका प्रस्तावमध्ये सबैभन्दा कम मूल्य ६० लाख ९९ हजार रुपैयाँमा प्रस्ताव पेस गर्ने हेम शंकर घर पालुवा पशु चौपाया खरिद बिक्री केन्द्र सिरहाबाट भैँसी खरिद गर्न लागिएको भैँसी अनुसन्धान कार्यक्रमले जनाएको छ ।
नेपालमा हाल ५० लाख वटा बिभिन्न जातका भैँसी पालनमा रहेका भएपनि माग अनुसारको दुध र मासु पुर्याउन नसकिएको राष्ट्रिय भैसी अनुसन्धान केन्द्र इटहरीले जनाएको छ ।
दुध उत्पादनको लागि मुर्रा भैँसीलाई उन्नत जात मानिन्छ । यो भैँसी भारतको पंजावमा बढी मात्रामा पाइने भएतापनि इटली, बुल्गेरियामा पनि यो भैंसी पाल्ने गरेको पाइन्छ ।