प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन्।
घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा पुगे हुन्।
घुन्सावासीले ओलीलाई भव्य स्वागत गरेका छन्।
फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्। ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।
प्रधानमन्त्रीसँगै गएकी पत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।
घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमाली बस्ती हो। प्रधानमन्त्री आएपछि यहाँ विकासले गति लिने र पर्यटन प्रवर्द्धन हुनेमा स्थानीय आशावादी छन्। यसका साथै यहाँका बासिन्दाले स्थायी स्वास्थ्य चौकीको माग गरेको स्थानीय दिपक शेर्पाले बताए ।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसअघि कात्तिक २६ गते बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री संखुवासभा गएका थिए।