झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार बुधवार दिउँसो ११ बजेर २५ मिनेट जाँदा पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका-६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किचेको हो।
मृत्यु हुनेमा बुद्धशान्ती–३ का ११ बर्षिय दिप्सन कडेँल र सोही ठाउँका २४ बर्षिय कुशल लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–६ को गिरी मन्दिर नजिकै पश्चिमबाट पूर्वतर्फ गइरहेको मे २ प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ‘अन टेष्ट’ मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।
सोही क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मोटरसाइकललाई किचेको थियो । ट्रकको ठक्करबाट मोटरसाइकलका चालक बुद्वशान्ति–३ का कुशल लिम्बु र सोहि मोटरसाइकलको पछाडि सवार सोहि ठाउँका ११ वर्षीय दिप्सन कडेलको घटनास्थलमै मृत्यु भएको छ भने सोहि मोटरसाइकलमा पछाडि सवार दिप्सनकी आमा सावित्रा घिमिरे कडेल सामान्य घाइते भएकी छन् ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
छिमेकीको मोटरसाइकल सहयोग मागेर सावित्रा कडेलले छोराको आँखा जाँच गराउन बिर्तामोड आएको प्रहरीले बताएको छ ।