प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टीभित्र किचलो चरम उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री र राष्ट्रपतिबिच लगातार भईरहेको छलफललाई निकै चासोका साथ हेरिएको छ ।
हिजो बेलुकी पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका थिए ।
आजै दिउसो १ बजे नेकपाको सचिवालय बैठक बस्दैछ भने २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
यसअघि दुबै बैठक १ बजेका लागि डाकिएपनि प्रचण्ड समुहको चर्को दबाबपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक एक घण्टा पछि सारेका हुन् ।
पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएको भन्दै प्रचण्ड लगायतका नेताहरुले विरोध गरेका हुन् ।
हिजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग भेटघाट गर्नको लागि शितलनिवास पुगेका थिए ।