सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले मोर्चाबन्दी कसेका छन् । दाहाल नेपाल समूहमा सचिवालयका ५ जना नेता छन् ।
सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले झनै हलचल मच्चाएको छ । दाहालको प्रस्ताव सार्वजनिक भएसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओलीले दाहालको प्रस्तावमा जवाफ दिन जरुरी नभएको उनी पक्षधर नेताहरुले सार्वजनिक रुपमै टिप्पणी गरिसकेका छन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न मंगलबार खुमलटार पठाएपनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन । ‘महासचिव बिहान खुमलटार आउनुभएको हो । तर दुई जनाबीच के कुराकानी भयो भन्ने जानकारीमा छैन,’ खुमलटार स्रोत भन्छ , ‘पार्टीमा देखिएको समस्याकै बारेमा कुराकानी भएको हुनसक्छ । तर के–के सन्देश ल्याउनुभयो भन्ने स्पष्ट भैसकेको छैन ।’
ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतहरुमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् ।