जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । प्रहरीले एसिड प्रहार गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार बिहान एक युवकले एसिडले प्रहार गरी भागेपछि प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एसिड प्रहार गर्ने युवको परिचय भने गोप्य राखेको छ ।
आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरि पक्राउ गरेको हो । उक्त युवकमाथि थप अनुसन्धान गरेर मात्र सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
यस्तो छ कानूनी व्यवस्था
एसिड आक्रमण पीडितको दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पुर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलगाग्ने भएमा, अनुहार पुर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तो गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने छ।
यसैगरी कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा दोषीलाई १० वर्षदेखि २० वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।
शरिरको अन्य अङ्गभङ्ग वा शारिरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँचदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने छ।
यसैगरि तेजाब आक्रमणका पीडितको तत्काल मृत्यु नभएपनि त्यही कारणले पछि मृत्यु भएमा त्यसलाई कर्तव्य ज्यानको कसुर गरेको मानिने र जन्मकैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ। यसैगरी तेजाब हान्दा लक्षित व्यक्तिलाई नलागेपनि वा लक्षित व्यक्ति जोगिएमा पनि आक्रमणकारी वा त्यसो गर्न लगाउनेलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्