कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।
केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
निमोनिया देखिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएकाले जनमोर्चाको बैठकले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको छ ।
तर सम्पूर्ण उपचार खर्च सरकारले आफैले व्योहोर्ने भएपछि अब उपचारको लागि आर्थिक सहयोग जुटाउन नपर्ने भएको छ ।
केसीका जेठा छोरा सचित्र केसीले भने आफ्नो बुबा खतरामुक्त रहेको भन्दै अनावाश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न अनुरोध गरेका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै ‘बुबा खतरामुक्त हुुनुहुन्छ । अनावाश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोहीपनि नफस्नुहोला । आवश्यक परे हामी पारिवारिक रुपमा सूचना गर्नेछौँ’, भनेका छन् ।