नेपालका कम्युनिष्टसँँग यतिको सुविधायुक्त बहुमत सायदै थियो । कम्युनिष्टकै यत्तिको शक्तिशाली सरकार पनि पहिलो नै हो । प्रतिपक्षी दल कमजोर छ । मुद्धाका हिसाबले र संसदमा उपस्थितिका हिसाबले पनि । तर शासक न हुन् जनताले दिएको यतिका मत पचेन सायद । अहिले अस्थिरताका लागि लडिरहेका छन् । पार्टीमा विवाद नदेखिदै पनि सरकारले जनताहितका के काम गर्यो ?
औलामा गन्न मिल्ने पनि छैनन् । जनआक्रोश छँदै थियो । त्यसैमा घ्यू थप्ने काम गरिरहेको छ नेतृत्व । शिखरमा पुगेको सान र साख अब ओरालो यात्रामा छ । नेताहरु व्यक्तिगत इगो, नाफा–नोक्सानको हिसाब मात्रै गरिरहेका छन् ।
जनताले त्यत्रो विश्वास गरेर सिंहासनमा पुर्याएको नेतृत्वमा सायद अहंकार पलायो । अहिले ताण्डव मच्चाइरहेका छन् । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीचको इगो र अहमको चपेटामा सिंगो पार्टी अनि मुलुक परेको छ । ठूलो अपेक्षा र आशा राखेर मत दिने जनता निरास भएका छन् ।
अहिलेको नेतृत्वसँग जनताको बढी नै अपेक्षा थियो । त्यसको पनि कारण छ । राजनीतिक अधिकारको लडाइँको पटक–पटक अगुवाइ गरेका नेताको हातमा सरकार र पार्टी सत्ताको बागडोर छ । पार्टीभित्रका शक्ति समूहबीच समीकरण र समन्वय नहुँदाको अप्ठेरो बुझेको र पार्टी विभाजन हुँदाको पीडा बेहोरेकाले यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्ला भन्ने बुझाइ थियो । जुन स्वभाविक हो । कम्युनिष्टले वर्षौसम्म समृद्धि र विकासका सपना देखाएका थिए ।
जनताले त्यत्रो विश्वास गरेर सिंहासनमा पुर्याएको नेतृत्वमा सायद अहंकार पलायो । अहिले ताण्डव मच्चाइरहेका छन् । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीचको इगो र अहमको चपेटामा सिंगो पार्टी अनि मुलुक परेको छ । ठूलो अपेक्षा र आशा राखेर मत दिने जनता निरास भएका छन् ।
विगत डेढ–दुई दशकदेखि नेपाली राजनीतिको निर्णायक शक्ति सत्तामा पुगेको थियो । त्यसकारण पनि सत्तारूढ नेकपाप्रति आमअपेक्षा बढी थियो । कम्युनिष्ट सरकारले जनतालाई लोप्प खुवाइदियो । अहिले जनताको अपेक्षामा तुसारो परेको छ ।
लाभको पदमा बसेका नेताहरूको ‘दिन दुई गुना रात चौगुना’ विकास भएको छ । नेकपा नेतृत्वको यो बेलाको सबैभन्दा ठूलो समस्या— यसले आफ्नो गुटबाहेक अरूको अस्तित्व स्विकार्दैन । सबै आफ्नो गुट बलियो बनाउने दाउपेचमा छन् । हुन त यो एकताका पछाडि ओली र प्रचण्डका आ–आफ्नै निहित स्वार्थ पनि थिए ।
तिक्ततापूर्ण संवाद र सम्बन्ध
पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ । धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भेटमा तिक्ततापूर्ण संवाद भएको बताएका छन् ।
धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेपछि उनीहरुबीच तनावपूर्ण संवाद भएको हो ।
सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए, ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्यो ? पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’
धुम्बाराहीमा मंगलबार साँझ बसेको दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बिहीबारसम्म औपचारिक बैठकका पर्खने निर्णय गरेको छ । त्यत्तिबेलासम्म पनि ओली तयार नभए औपचारिक बैठकतिर अगाडि बढ्ने उनीहरुको योजना छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यको मंगलबारको अनौपचारिक बैठकले पनि नेकपामा उत्पन्न विवादले कस्तो मोड लिन्छ भन्ने स्पष्ट पारेन ।
सचिवालयको औपचारिक बैठक डाकेमा ओलीले धम्की दिएअनुसार पार्टी फुटाउने हुन् कि भन्ने डरका कारण यो समूह त्यसबाट पछि हट्दै आएको छ। तर त्यसलाई आफ्नो कमजोरी नभई पार्टी एकताको रक्षाका लागि चालिएको कदमका रुपमा उसले चिनाएको छ ।
प्रचण्डसँगको यसअघिको भेटमा ओलीले आफ्नो सहमतिविपरीत केन्द्रीय सचिवालयको औपचारिक बैठक बोलाएमा पार्टी फुटको घोषणा गर्ने धम्की दिएका थिए । ओलीले आफ्नो अडान नत्यागेपछि प्रचण्ड निराश हुँदै आफैले त्यसअघि तय गरेको अनौपचारिक सचिवालयको बैठकमा सामेल हुन पार्टी मुख्यालय धुम्बाराही पुगेका थिए ।