विश्व कोरोना महामारीसँग जुधिरहेको छ । नेपालमा पनि महामारी नियन्त्रणबाहिर जाँदै छ । तर कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने प्रमुख कार्यभार बनाउनुपर्ने सत्तारुढ नेकपा भित्र उत्पन्न विवादले महामारीलाई छायाँमा पारेको छ। सत्तारुढ नेकपामा मात्रै होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि लामो समयदेखि आन्तरिक किचलोमै छ । जनताका मुद्धा कांग्रेस बैठकमा पनि प्राथमिकतामा छैनन् भन्दा अतियुक्ति हुँदैन ।
संक्रमण र मृत्युदर दैनिक बढिरहेका बेला नेकपाका शीर्ष नेताहरु गुटभेला र एकले अर्कोलाई सिध्याउने ध्याउन्नमा छन् । आफ्नो गुट बलियो बनाउने र अर्काको भत्काउने कसरतमा छन् । जनताका समस्याभन्दा सत्ता र शक्तिमाको रहने भन्नेमा उनीहरुको ध्यान केन्द्रित छ । नेताहरु आरोपप्रत्यारोप गरेर समय बिताइरहेका छन् ।
नेकपाभित्रको घरझगडाले सरकार र मुलुक प्रभावित भएको टिप्पणी राजनीतिक विश्लेषकहरूको छ। यस्तो अवस्थामा सत्तापक्षका नेताहरुले जनताको हितमा केही नसोचेको आभास भएको छ ।
जनताको दैनिक जीवनसँग जोडिएका मुद्दा आज छलपललका विषय बन्दैनन् ।
सत्तारुढ नेकपाले दुई तिहाइ जनमतको समेत अपमान गरेको छ । राज्य सन्चालकहरुको तलब भत्तामै करिब ८ अर्ब रुपैयाँ खर्च हँदो रहेछ । महामारीमा सांसद र मन्त्रीहरको खातामा दसैं भत्तासम्म पुग्यो । भलैं जनतालले लखेटेपछि फिर्ता भयो । जब कि जनता सामान्य उपचार नपाई मरिरहेका छन् ।
पीसीआर टेस्ट पनि आफैं गर्नू, उपचार पनि आफैँ गर्नू भनेर सरकारले उर्दी लगाउँदा उपचार नपाएर कयौँ नेपालीले ज्यान गुमाए । सर्वाेच्च अदालतले कोभिड को परीक्षण र उपचार निःशुल्क गर्नू भनी सरकारका नाममा जारी गरेको परमादेशलाई पनि सरकारले टेरेन । अवहेलाना मुद्धामा समेत सरकार हार्यो ।
यस्तो महामारीका बेला ज्यानै बाजी थापेर कामका लागि भारतलगायत तेस्रो मुलुक जाने नेपालीको संख्या रोकिएको छैन । नाकामा भारत जानेको लर्को घटेको छैन । राहदानी विभागमा नेपाली देखिन छोडेका छैनन् ।
दलभित्र नेताहरूबीचको किचलो उनीहरूको विशेषता भएको छ । सत्तामा रहेका दललाई नागरिकका न्यूनतम आवश्यकताप्रति कुनै मतलब छैन ।
कोभिड–१९ को कहरमै भ्रष्टाचार काण्ड रचिए । कारबाही त के निश्पक्ष छानबिन समेत भएन । यस्ता अनगन्ती घटनाक्रम घामजत्तिकै छर्लंग छ । यति हुँदा पनि जनताले सहिरहनुपर्ने ? दसकौंदेखि यिनै दल सत्ता र शक्तिमा छन् ।
अमेरिकी मतदाताबाट सिक्लान् ?
महामारीबीचमै विश्व शक्ति राष्ट्र अमेरिकामा निर्वाचन भयो । भारतमा पनि भइरहेको छ । विश्वले चासोका साथ हेर्ने अमेरिकी निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भए ।
आफ्नो शासनकालमा ट्रम्पले कयौँ अनपेक्षित निर्णय गर्दै गए । जसको परिणाम शक्तिराष्ट्रका रूपमा लामो समयदेखि विश्वलाई नेतृत्व गर्दै आएको अमेरिकी नेतृत्वमाथि विश्वासको संकट देखापर्यो । शासकका रूपमा ट्रम्पले सुध्रने संकेत नगरेपछि हालै सम्पन्न निर्वाचनमार्फत अमेरिकी जनताले नै आफ्नो निर्णयमा पुनर्विचार गरे ।
अमेरिकाको नेतृत्वमा उदारवादी छवि बनाएका डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जो बाइडन विजयी भए । उनको विजयसँगै विश्वव्यापीकरण र अमेरिकी लोकतन्त्रमा छाएको ‘कालो छायाँ’ हटेको छ ।
यो विजयलाई लोकप्रियतावाद र अतिवादको अन्त्यका रूपमा पनि हेरिएको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेपालसहित विश्वभर त्यसको प्रभाव देखिएको छ । अमेरिकी निर्वाचनमा ट्रम्पको हार र बाइडेनको जितलाई लिएर सामाजिक सञ्जालमार्फत नेपालीले पनि आफ्ना शासकलाई खबरदारी गरिरहेका छन् ।
तर अमेरिकी निर्वाचनले शासकलाई भन्दा पनि जनतालाई महत्वपूर्ण सन्देश दिएको छ । ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गरेर आफूहरूले गल्ती गरेको भन्दै अमेरिकी जनताले महसुस गरे, सुध्रने कुनै संकेत नगरेपछि उनीहरूले जवाफ पनि दिए । अर्थात् शासक नसुध्रिएपछि यो निर्वाचनमा अमेरिकी जनता आफैं सच्चिएका हुन् ।
नेपालको हकमा पनि जनताको खबरदारीले मात्र शासक सुध्रदैनन् भन्ने उदाहरण शासकहरूको व्यवहारले देखाइरहेको छ । महामारीका बेला जनता अभाव, संकट र मृत्युसँग जुधिरहेका छन्, सरकारको नेतृत्व गर्ने सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू भने व्यक्तिगत स्वार्थ र लाभका लागि जुहारी खेलिरहेका छन् ।
उनीहरूले आफैंले गरेका प्रतिबद्धता बिर्सेर जनताको पीडामा नुनचुक छर्किने काम गरिरहेका छन् । यसको संकेत हो शासक सुध्रिन चाहँदैनन् । अर्थात्, अमेरिकामा जस्तै नेपाली जनता पनि आफैं सुध्रिनुपर्छ ।
लुटमा चुप बसेर अर्काे चुनावसम्म कुरिरहने हामीले ? अर्काे चुनाव आउँछ अनि यस्तै वृत्ति दोहोरिरहन्छ ।
के नेपालीको नियति यत्ति मात्रै हो त ? हिजै अमेरिकी जनताले मैँमत्त नेतृत्वलाई पाखा लगाए, के नेपाली जनताले अमेरिकी मतदाताबाट पाठ सिक्लान् ? के अब यिनीहरुको विकल्प खोज्लान् ? त्यो भने आगामी निर्वाचनले देखाउँने नै छ ।