महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।
दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।
पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्। तनहुँको व्यास नगरपालिका-५ मा पर्ने मानुहुँकोटमा कोरोना महामारीकाबीच पनि दैनिक हजारौं मानिसहरूको भिड लागेपछि दैनिक ३ सय मानिसलाई मात्र प्रवेश गर्न दिइने नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। ‘आज मात्र हामी मानहुँकोटमै बैठक बस्यौं। अब ठ्याक्कै बन्द गर्ने स्थिति त छैन तर अब ३ सय व्यक्तिलाई मात्र प्रवेश गर्न दिने तयारी गर्दैछौं,’ उनले भने।
मयेर न्यौपानले नगर प्रहरी परिचालन गरेर सोमबार दिउँसोबाटै यो नियम लागू गरिने बताए। उनले त्यसरी प्रवेश गर्न दिइएका व्यक्तिहरूको दर्ता पनि गरिने जनाए। उनले भने, ‘माथि जाने एउटै बाटो छ। त्यसैले तलै नगर प्रहरी परिचालन गरी दर्ता गरेर मात्र मानिसहरूलाई माथि पठाउँछौं।’ अब मानहुँकोट जाने व्यक्तिहरूको नाम, ठेगना र सम्पर्क नम्बर राखिनेछ। साथै मानिसहरूलाई अनिवार्य मास्कको प्रयोग गर्न र संक्रमणलाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरिने पनि मेयर न्यौपानले जनाए। उनले मानहुँकोट भ्रमण गर्न आउने मानिसहरूलाई पनि उक्त जानकारी लिएर मात्र आउन आग्रह गरेका छन्।