सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग वार्ताका लागि नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई साथमा लिएर नेता नेपाल बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीको सचिवालयले आइतबार बिहान प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएपछि नेता नेपाल आफूनिकट तीन स्थायी कमिटि सदस्यलाई साथमा लिएर बालुवाटार गएको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो १ बजेबाट सुरु भएको छलफल साढे ४ बजे सकिएको हो।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले नेपाललाई भेट्न बोलाएका हुन्।
स्रोतका अनुसार बालुवाटार जानुअघि नेता नेपालले कार्यकारी अध्यक्ष प्रचण्डसँग टेलिफोनमा छलफल गरेका थिए।