तनहुँको व्यास नगरपालिका-५ मा रहेको मानहुँकोट डाँडा हिजोआज निकै चर्चित छ । यहाँ दिनहुँ मानिसहरुको भिड लाग्न थालेको छ । केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै एक हजारभन्दा धेरै मानिस घुम्न पुग्छन् । बस्ती नै रित्तिसकेको यो डाँडोमा अहिले मान्छेको चापलाई व्यवस्थापन गर्न गाह्रो भएको बताउँछन् व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने बताउँछन् ।
केही व्यक्तिले डाँडो र त्यहाँबाट देखिएका दृश्य सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो । त्यसपछि बिस्तारै आन्तरिक पर्यटकको चाप बढेको छ । शनिबार अत्यधिक भिडभाड भएपछि नगरपालिकाले व्यवस्थापनका लागि आज (आइतबार) डाँडामै बैठक राखेको छ ।
‘सामाजिक सञ्जालमार्फल भाइरल भएपछि युवाहरु आएका छन् । बस्ने ठाउँ नपाएर, मान्छेहरु होटल पनि नपाएर चोक र गल्लीमा छन्,’ मेयर न्यौपानेले भने, ‘हामी पनि चकित छौं । आज मिटिङ त्यहीँ राखेका छौं ।’
मानहुँकोट जान सदरमुकाम दमौली बजार र नजिकैका जिल्लाहरुका मात्रै नभएर पश्चिम कञ्चनपुर, पूर्वको झापा, काठमाडौं, चितवनलगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर पनि मानिसहरु आइरहेका मेयर न्यौपानेले बताए । उनीहरुले सूर्योदय र सूर्यास्त हेर्न दार्जिलिङ जानुभन्दा मानहुँकोट आएको बताउने गरेका छन् ।
पर्यटकको चाप बढेपछि उपेक्षित मानहुँकोटमा अहिले भने दमौलीका व्यापारीले जग्गा खरिद गर्न थालेका छन् ।
जिल्ला सदरमुकाम दमौली बजारबाट ६ किलोमिटर टाढा पर्ने यो डाँडालाई ‘बजारको छाता’ पनि भनिन्छ । बिहान ११/१२ बजेसम्म दमौलीलाई कुहिरोले ढाक्छ । दिउँसो ३ बजेपछि मानहुँ डाँडाको छाया पर्छ ।
समुन्द्र सतहदेखि ११०० मिटर उचाइमा रहेको मानहुँकोट खासमा मान्छे बस्न नरुचाउने डाँडो हो । पछिल्लो समय यहाँ मानव बस्ती निकै पातलिएको छ । पुरानो बस्तीका मानिस बसाइ सरेर ७ घर मात्र बाँकी छन् । केही वर्षअघिसम्म ७० घर रहेको यो ठाउँका कोही नजिकैको दमौली बजारतिर झरे, कोही अन्तै बसाइ सरे ।
नजिकै भएकोले धेरैजसो थातथलो छोडेर दमौली बजार नै बसाइ सरेको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम दमौली र मानहुँकोटको दुरी जम्मा ६ किलोमिटर पर्छ ।
मानहुँकोटमा अहिले पनि खानेपानीको सुविधा छैन । एक घण्टाको बाटो हिँडेर यहाँका बासिन्दा खानेपानीको जोहो गर्छन् ।