कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् ।
मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् ।
अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक ७ गतेदेखि सशुल्क परीक्षण शुरु गरेको हो ।
दुवै प्रयोगशालामा गरी हालसम्ममा १ हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् ।
अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी र कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् ।
“गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भने, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएको कारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्नुहुन्छु ।”
“रिर्पोट चाँडो चाहिएका र सिकिस्त विरामी आउँछन्”, उनले भने, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ । त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको छ ।” स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको ठाकुर बताउँछन् ।