धनतेरस एक संस्कृत शब्द हो । जसलाई धन त्रयोदशी वा धनवन्तरी त्रयोदशी पनि भन्ने गरिन्छ। यो प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन पर्ने गर्दछ। सामान्य भाषामा धनको अर्थ सम्पति वा अन्य कुनै भौतिक चिजलाई जनाउदछ भने तेरू भन्नाले संख्यात्मक १३ लाई जनाउदछ।
यसदिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सवको रुपमा पनि मनाउने गरिन्छ। धन्वन्तरि आयुर्वेदका एक महान ज्ञानी हुन् जसले मानवजातिको भलाइ र रोगको पीडाबाट बच्न आयुर्वेदको ज्ञान दिएका थिए।
धनतेरसका दिन नेपाल तथा भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।
यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण भने अहिले सम्म पत्ता लागिसकेको छैन। यद्दपी आयुर्वेदका ज्ञानी धन्वन्तरीको उत्पन्न समुद्रमन्थनबाट भएको थियो र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर प्रकट भएका थिए । जसका कारण यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो। यसैगरी यसदिन सुन, चाँदी, गहना र भाँडा किन्दा परिवारमा आउने सबै नकारात्मक शक्तिहरु हटेर जाने र परिवारको प्रत्येक सदस्यको लागि लाभदायक हुने विश्वास गरिन्छ।
यस पर्व पछाडी हिमा राजा र उनका १६ वर्षिया छोराको कथा छ । जसमा हिमा राजाको छोराको ज्यान विवाह गरेको ४ दिन पछि सर्पले टोकेर जाने भनेर भविष्यवाणी गरिएको थियो। यद्यपि उनकी बुद्धिमती पत्नीले त्यस दिन आफ्नो पतिलाई मृत्युबाट बचाउन सुत्न नदिई चम्किला गहना र सिक्काको थुप्रो आफ्नो कोठाको ढोकामा राख्दछिन र चारै तिर बत्ती बालिदिन्छिन।
जब मृत्युका देवता यम सर्पको रुपमा हिमाका छोरालाई डस्न आउछन् तब चारैतिर राखिएको चम्किला गहना र चम्किला बत्तिका कारण उनि कोठा भित्र प्रवेश गर्न सक्दैनन् । मृत्युका देवताले रातभर राजाकी पत्नीले राजालाई सुत्न नदिइ सुनाएका कथा सुनेर बस्छन र भोलिपल्ट यम राजाको ज्यान नलिई फर्कन्छन। तसर्थ, आजसम्म पनि यसदिन दुर्भाग्यबाट बच्न सुन र चाँदीको गहना वा नयाँ भाँडा किन्ने चलन छ । यसलाई समृद्धिको आश्रयस्थल पनि भनिन्छ। यद्यपि यस शुभ दिनम प्लास्टिकका समान भाडाकुडा तथा गिलास खरीद गर्न नहुने धार्मिक जनविश्वास छ।