सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा पुगि काम–कारबाहीबारे जानकारी लिनुभयो । यसै क्रममा उहाँले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुहुँदै सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको उल्लेख गरेका छन् ।
मन्त्री गुरुङले अवलोकनको क्रममा काउन्सिलको काम–कारकाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जिज्ञासा राखे । सञ्चारसम्बन्धी कानुनमा के÷कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन पनि आग्रह गर्दै उनले स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राखे । काउन्सिल र मन्त्रालय मिलेर अगाडि बढ्नुपर्ने भन्दै उनले काउन्सिलले केकस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताए । हिजो कुन विधिलाई टेकेर अनुगमन गरियो भन्दा पनि वर्तमान परिस्थितिको आधारमा कोभिडको सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गरे । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मिडियाको दायित्व भएको उल्लेख गर्दै उनले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गरेका छन् ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए÷गरिएका काम–कारबाहीको बिषयमा जानकारी दिए । उनले मन्त्री गुरुङको सफल कार्यकालको शुभकामना दिनुहुँदै कोभिडको महामारीमा पनि काउन्सिलको काम निरन्तर चलिरहेको जानकारी गराएका हुन् ।