नपठाउ वृद्धाश्रम हाम्लाई, नातिसँग खेल्ने छ रहर
ताते गर्दै उसँगसँगै आँगन बारी धाउने छ रहर ।
कति खुशि थियौं हामी छोरा तिमीले जन्म लिँदा,
छिया छिया हुन्छ मुटु तिमले आज दुःख दिँदा ।
औंला समाई पाइला सार्या हिजैको त कुरा थ्यो नि,
भूल त्यस्तो के भो आज माया त हाम्रो पुरा थ्यो नि ।
काखमा बसी दुध पिउँदा कतिपटक लातले हान्थ्यौ,
फेरि पनि पोखिन्थ्यो माया कोल्टे फेर्दै मुस्कुराउँथ्यौ ।
रुझ्दै आफू सुते पनि तिमलाई सधैं ओतमा सुतायौं,
मेरो बाबु मेरो राजा भन्दै हामी गुनगुनायौं ।
जीवन भरको कमाई हाम्ले तिम्रै लागि अर्पण गर्यौं,
सोच्न बाध्य भएकाछौं आज गल्ती हामले कहाँ गर्यौं ।
सन्तान प्रति समर्पित हुँदा यदि गल्ती हुन्छ भने,
किन सन्तान दिन्छौ प्रभु यति मन रुन्छ भने ।
डाँडा पारिका घाम भइसक्यौं छैन हाम्रो अब जाँगर,
कुनै कुनामा रहौंला हामी, तिमी कत्ति चिंता न गर ।
मीठो मसिनो चाहिन्न हाम्लाई पेटको ज्वाला मार्न पाए भैगो,
तिम्रै काखमा प्राण छोड्ने रहर छ छोरा अब हामी दुबैको ।
हाम्रो सम्पति भन्नु छोरा तिमीहरु नै त हौ नि हेर,
नपठाउ वृद्धाश्रम हाम्लाई, नातिसँग खेल्ने छ रहर ।