हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैं नजिकिदै गर्दा मैले सामाजिक सन्जालमा आफूसंग आबद्ध धेरै girls group तिर महिनावारीको चर्चा सुने ।कुनै पोष्टहरुमा “क-कसले जहिले चाडपर्वमा period problem ले गर्दा मनाउन पाउनु हुन्न?” भनेर सोधिएको पनि थियो भने कुनै पोष्टहरुमा “क-कसले दसैंमा period नहोस् भनेर म जस्तै दबाइ लिइरहनु भएको छ?” भनि सोधिएको थियो ।
जब जब यस्ता सवाल अनि अन्धविश्वासमा रुमल्लिएका प्रथाहरु समाजमा ब्यप्त देख्छु तब मन दुखित हुन्छ। सोच्छु के महिनावारी एउटा अपराध हो?किन अशुद्ध हुन्छन् ति सात दिनमा महिलाहरु आफ्नो भान्साघरमा, चाडपर्वहरुमा,पुजापाठमा, मठमन्दिरहरुमा? जुन मन्दिरमा सधैं देवीको पुजा हुन्छ त्यहीं मन्दिरमा जान किन रोकिन्छ यी सातदिनमा महिलाहरुलाई?
थाहा छैन मलाई महिनाका अरु दिनहरुमा साक्षात् देबी लक्ष्मीको स्वरुप मानिने नारीलाइ किन यी सात दिनमा चाहिँ अछुतो मानिदै आएको छ भनेर। मैले पढेकी छैन कुनै धर्मग्रन्थहरु जहाँ उल्लेख गरिएको होला किन रजस्वला भएकी नारी अपबित्र हुन्छन् भनेर तर म आफैले अनुमान गर्दा के लाग्छ भने पहिले पहिले महिलाहरु महिनावारी हुँदा खेरी लाउने कपड़ा(pad)अहिले जस्तो प्रशस्त थिएनन् र रजस्वलाको समयमा अत्याधिक मात्रामा रक्तस्राव हुने भएकाले सरसफाइलाई ध्यानमा राखी भान्सा आदिबाट अलग्गै राखिएको हुनुपर्छ। यसैलाई अाफू अनुकूल व्याखा गरि पुरुसबादी समाजले अनेक पाप र धर्मको उपमा दिएर एउटा परम्पराको रूपमा एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुँदै परम्पराको रुपमा आएको हुनुपर्छ ।आफ्नो मौलिक परम्परा र संस्कृतिलाई जोगाएर बर्करार राख्नु हामी नयाँ पिँढीको दायित्व हो तर संस्कृति र बिकृती बिचको फरक छुट्याउनु आजको आवश्यकता र चुनौती बनेको छ।
मलाई याद छ मेरो पहिलो महिनावारी भएको क्षण र अवस्था ।हातमा एउटा सानो चोट खप्न नसक्ने म आफ्नो योनीबाट पहिलो पटक त्यति धेरै रगत बगिरहेको देख्दा एकदमै डराएकी थिंए र आमालाई सुनाएकी थिंए ,आमाले हास्दै भन्नुभयो “नरम सुतिको कपडा मिलाएर लगाउनु किचनमा लाट्लुट नगर्नु अब ७ दिन दाजुभाइको अनुहार नि नहेर्नु “भन्छन भनेर ।म छक्क परेँ !!मेरो जिद्दी,अटेरी स्वभाव र सानै उमेरका कारण मैले मन मनै आमाको कुरा नमान्ने निर्णय गरे यद्यपि आमाका सामु आफ्नो मुन्टो हल्लएर एक आज्ञाकारी वच्चा जस्तै सहमती जनाए। मलाई मनमा जिज्ञासा लाग्यो के हुन्छ छुदा खेरी? कसरी लाग्छ पाप? के हुन्छ दादाको अनुहार हेर्दा खेरी ?र यस्तै यस्तै …मैले आमाले थाहा नपाइ मेरो दाईको अनुहार चिहाएर हेरे कुनै परिबर्तन देखिन त्यहाँ।त्यसपछि आमा नभएको मौका पारेर सुटुक्क किचनमा पसेर कसैले देख्छकि भनेर यता उता पुलुक्क हेरे र आफै पानी सारेर खाए।आमाका नजरमा त म महिनावारी बारिरहेकी थिंए तर वास्तवमा मैले सबैलाई ढाँटिरहेकी थिए ।आफू सानै भएकाले गर्दा यो सब लुकाछुपी गर्न मलाई एकप्रकारले रमाइलो पनि लागिरहेको थियो तर मन भित्र कता कता एउटा डर पनि थियो बा पाप पो लाग्ने हो कि!
मलाई, घरमा कसैले देखिहाले भने मलाई पिट्ने या गाली पो गर्ने हुन कि! भनेर जे होस मैले आफ्नो लागि बारीराखेकी थिइँन। महिनावारी अरुका डरले देखावटी रुपमा पर सरेकी थिए।सधैं आमाको अङ्गालाेबिना निदाउन नसक्ने म पहिलो चोटि एक्लै सुत्नु परेको थियो।एकदमै पीडा भैराखेको थियो मलाई पहिलो चोटि यस्तो धेरै ढाड र पेट्को दुखाइ अनि त्यो रक्तस्राव मेरा लागि अत्यन्त कठिन भएको थियोे।राम्रो संग मिलाएर प्याड लाउन नआउदा धेरै चोटि लुगा बाहिर रगत लतपतिएको थियो ,पहिलो महिनावारी भएकाले पनि होला मलाई एकदमै संकोच अनि डर लागिरहेको थियोे , कसैले थाहा पाउँलान कि भनेर।प्याड किन्न जान मलाई एकदमै लाज लागेर आयो त्यसैले मेरि नजिककी साथीलाई किनेर ल्याइदिन आग्रह गरे।बारी भरी लटरम्मै फलेका नास्पाती थिए मलाई नास्पाती टिपेर खान मन लाग्यो तर मलाई तुलफुलको बोट नछुनु पर सरेका बेला जम्मै कुहिएर झर्छन भनेर बन्देज लगाइएको थियो। यसरी मलाई सात दिन बिताउन सात साल जस्तै लाग्या थियो।जब मेरो पहिलो सात दिनको बन्देज सकियो मलाई पिन्जडाबाट फुत्किएको चरा जस्तै स्वतन्त्र महसुस भयो।अब मैले लुकेर कसैले नदेख्ने गरि पानी खान नपर्ने भयो,मन परेको खाना कसैले थाहा नपाइ झिकेर खान नपर्ने भयो,दाईको अनुहार लुकेर हेर्न नपर्ने भयो,म स्वतन्त्र भएँ, म आजाद भएँ । जब म आजाद भए मैले दोस्रो पटक देखि आफुलाई महिनावारी भएको कुरा कसैलाई नसुनाउने निर्णय गरे आफैले र मैले त्यसै गरेँ ।तर पेट दुखाइ ज्यादा भएकाले गर्दा मेरि आमाले थाहा पाउनु भयो र भन्नू भयो कति दिन भो?
मैले आमाको मुखतिर हेरेर भने दुई दिन भयो।अनि किन नसुनाकी त भन्नू भयो।सुनाए भने मलाई फेरि अस्तिको जस्तै केही छुन नदिन लाई होला नि! मेरो छुच्चो स्वभाव थियो सिधा जवाफ दिएँ। किनहो कुन्नी आमाले मेरो कुनै उत्तरमा आपत्ति जनाउनु भएन।सायद मेरि आमा नि आज सम्म अरुकै डरले बारिरहनु भएको थियो कि !! समाज अनि धर्मको डरले सायद !!!त्यो दिनदेखी न मैले कहिले महिनावारी बारेकी छु न मेरा भाउजुहरुले।मलाई कुनै चाँडपर्बले छेकेको छैन महिनावारी हुँदा नमनाउनु भनेर।
अझै पनि कतिपय ठाउँहरुमा छोरीलाई पहिलो चोटि महिनावारी हुँदा आफ्नो घरमा बस्न नहुने भन्दै अर्काको घरमा लगेर अलग्गै सात दिनसम्म राख्ने चलन समाजमा प्रशस्तै पाइने गरेको छ।महिनावारी एक संबेदनशिल र जटिल स्टेज पनि हो।रजस्वलाको समयमा हुने शारीरिक पिडालाइ म शब्दमा बयान गर्न सक्दिन।महिनावारीको समयमा महिलाहरु छिट्टै कोमल र भाबुक हुने गर्छन्।उनिहरुलाई अझै बढी माया र स्नेहको जरुरत हुन्छ झन पहिलो महिनावारीमा त अझ बढी।जति बेला आमाको सबैभन्दा जरुरत हुन्छ त्यातिबेला आमाबाट अलग्गै त्यो पनि अरुको घरमा राख्दा बालिकाको कलिलो मन मस्तिष्कमा पर्ने असर सबै महिलाहरुले महसुस गर्न सक्छन्।
महिनावारिका कारण आफुले चाँडपर्व मनाउन नपाएको भन्दा पनि महिनावारीका कारण आफुले कुनै चाडबाड वा शुभकार्यमा आफुलाई नरोकेको भन्ने खालका पोस्टहरु सामाजिक संजालमा हालौ,जसले गर्दा आफुलाई धर्म या कुनै पापको डरले आफ्ना पूर्बजहरुको पाला देखि चलिआएको र बिद्यमान रहेकोअन्धबिश्वासमा आधारित यो चेनलाई ब्रेक गर्न नसकेका महिलाहरुमा यसलाइ तोड्ने हौसला र शाहस मिलोस।
महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो यसलाई कुनै भौतिक ट्याब्लेट वा औषधीको जथाभावीरुपमा सेवन गरि रोक्न खोज्नु गलत हो ।अन्यथा यसका असरहरु धेरै हुन सक्छन्।यो जैबिक प्रक्रियालाई impurity को नाम दिएर आफूलाई कुनै पनि शुभ कार्य या चाडपर्वमा नरोकौं ।
यदि रजस्वला हुँदा नबार्दा साँच्चै नै पाप लाग्छ भने म त्यो पापको भागिदार हुन तयार छु तर जुन कुराले आफू नारी हुनुमा पूर्णता दिन्छ, आफ्नो अस्तित्वको परिचय दिन्छ त्यसैलाई अपबित्रताको नाम दिन म किमार्थ तयार छैन।यदि कुनै सिस्टममा परिवर्तन चाहान्छौ भने त्यसको सुरुवात हामि आफैंले गर्नु पर्छ,परिवर्तनको पहल आफैंले गर्नुपर्छ।