बलिउड अभिनेत्री परिणीति चोपडा आज आफ्नो ३१ औं जन्मदिन मनाउदैछिन् । सायदै कमैलाई मात्र थाहा होला कि परिणीतिलाई अभिनयप्रति कहिल्यै मोह थिएन । उनी इन्भेस्टमेन्ट बैंकर बन्न चाहन्थिइन् । इंग्ल्याण्डको मेनचेस्टर बिजनेस स्कुलबाट विजनेस फाइनान्स र इकोनोमिक्समा ट्रिपल अनर्सको डिग्री हासिल गरेपछि उनी सन् २००९ मा आएको आर्थिक मन्दिरका कारण भारत फर्किनु परेको थियो ।
भारत आएपछि उनले पब्लिक रिलेसन्स कन्सल्टेन्टका रुपमा यशराज फिल्मस्मा काम पाइन् । यही समय उनले फिल्ममा काम गर्ने मौका पाइन् र फिल्म ‘इशकजादे’को नायिका बनिन् । परिणीति भन्दा अगाडि यस्ता कैयौं स्टारहरु छन्, जसले बलिउडमा आउनु अघि कुनै अन्य व्यवसाय गर्दथे ।
‘बाजीराव मस्तानी’, ‘गली ब्वाइ’, ‘सिम्बा’ र ‘बेण्ड बाजा बारात’ जस्ता सफल फिल्ममा अभिनय गरिसकेका अभिनेता रणवीर कपूर फिल्ममा आउनु अघि कपीराइटर थिए । उनले कैयौं विज्ञापन एजेन्सीमा कपीराइटरका रुपमा काम गरे । त्यसपछि उनी सहायक निर्देशक बने र उनले अभिनयको दुनियाँमा आफ्नो पाइला चाले ।
फिल्म ‘ग्याङ्स अफ वासेपुर’, ‘माँझीः द माउण्टेन मेन’ र अन्य कैयौं सफल फिल्ममा देखिएका प्रख्यात अभिनेता नवाजुद्दीन सिद्धिकी फिल्ममा आउनु अघि गार्ड र वाचमेनसम्म भए ।
बलिउडका सुपरस्टार अक्षयले पनि फिल्ममा आफ्नै मेहनतले पहिचान बनाए । उनी फिल्ममा आउनु अघि बैंककमा वेटरका रुपमा काम गर्थे । यही समयमा उनले मार्सल आर्टस्को तालिम लिए । उनका विद्यार्थीले उनलाई मोडलिङमा लागेर भविष्य चम्काउन सल्लाह दिए । त्यसपछि उनी फिल्मको यात्रामा निस्किए ।
अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’बाट बलिउडमा पाइला चालिन् । तर उनलाई फिल्ममा आउने मन थिएन । उनी कष्ट्युम डिजाइनर थिइन् । तर एकदिन अभिनेता सलमान खानले उनलाई देखेपछि उनलाई फिल्ममा ल्याए । त्यो समयमा सोनाक्षीको तौल धेरै थियो । सलमानले उनलाई तौल घटाउनका लागि फिटनेस सेन्टरमा भर्ना गरिदिए ।
आफ्नो अभिनयले दर्शकको मन जितिसकेका अभिनेता आयुष्मान खुराना फिल्ममा आउनु अघि रेडियोमा कार्यक्रम चलाउने गर्दथे । एमटीवी रियालिटी शो रोडिज जितेपछि आयुष्मान चर्चामा आए । उनी अभिनेतासँगै राम्रा गायक पनि हुन् ।