जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् ।
११ वर्षीय प्रज्वल गैह्रेको जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका १२ जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
केक खाएपछि झाडपखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ ।
जन्मदिन होस् या वैवाहिक वार्षिकोत्सव कुनै पनि विशेष अवसरमा नेपाली शहरी समाजमा केक अनिवार्य जस्तै हुन थालेको छ।
परम्परागत मिठाई या परिकार साँस्कृतिक उत्सवका महत्वपूर्ण अंग हुने गरेतापनि कतिपय उपभोक्ता केक नभए महत्वपूर्ण चाडपर्वसमेत अपूरो हुने ठान्छन्।
तर यसरी हरेक चाडवाड, भोजभतेर र खाजाको रुपमा प्रयोग हुन थालेको केक स्वास्थ्यका लागि हितकर नभएको विज्ञहरू बताउँछन्।
नेपाली समाज खुला बन्दै गएपछि विदेशी संस्कृतिको प्रभाव पनि बढ्न थालेको र त्यसपछि केकका उपभोक्ता बढेको बताइन्छ।
नेपालको खासगरी शहरी क्षेत्रमा बसोबास गर्ने समुदायबीच यतिविघ्न प्रयोग हुने केककतिको स्वस्थकर छ त?
डा अरुणा उप्रेती भन्छिन्: “केक बनाउन विशेषत मैदा, चिनी र क्रिमको प्रयोग हुन्छ। ग्लुकोजको मात्रा अत्यधिक हुन्छ।
“केटाकेटीले केकको स्वाद थाहा पाएभने उनीहरूले अरु खानेकुराहरू खान मन गर्दैनन्। उनीहरू कुपोषणको शिकार बन्न पुग्छन्। त्यस्तै मधुमेह लागेका र मोटोपनको शिकार भएका मानिसहरूका लागि त यो विष नै हो।”
“पोषणको हिसाबले केकले हामीलाई केही पनि पोषण दिँदैन भन्ने कुरामा ढुक्क भए हुन्छ।”