सरकारले ६० वर्ष नपुगेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएको गुनासो आइरहेका थिए ।
बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।
यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए ।
सामाजिक सुरक्षा ऐनमा जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने र लोपोन्मुख जातिले भत्ता पाउने व्यवस्था छ ।
ऐनमा विपन्न र न्युन आय भएका व्यक्तिलाई पनि लाभग्राहीको सूचीमा राखिएको छ । तर न्युन आय भनेको कति हो भन्ने कुरा कानुनमा स्पष्ट उल्लेख गरिएको छैन ।
यसअगाडी एकल महिलाले ६० वर्षपछि मात्रै भत्ता पाउने व्यवस्था थियो। हाल सबै उमेरका एकल महिलाले भत्ता पाउँछन्।